काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिको विवरण शनिबारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

बिहीबार विवरण अद्यावधिकका लागि निर्वाचन आयोग पुग्नुभएका सभापति थापाले नेपाली काँग्रेसको विधानको धारा १७(२) बमोजिम सम्पन्न विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले त्यसको जानकारी औपचारिक रूपमा आयोगलाई गराइएको जानकारी दिनुभयो।
उहाँले विशेष महाधिवेशन पार्टी विधानको धारा १५ अनुसार पार्टीको सर्वोच्च निकाय भएकाले त्यसबाट भएका निर्णय सर्वोपरि हुने बताउनुभयो। महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भइसकेकाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार आयोगमा विवरण अद्यावधिक गर्न निवेदन दिइएको उहाँको भनाइ छ।
सभापति थापाले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरिदिन आवश्यक सम्पूर्ण कागजात र विवरणसहित निवेदन बुझाइएको र छिट्टै अद्यावधिक हुने विश्वास व्यक्त गर्नुभयो। माघ ६ गते हुने प्रतिनिधिसभा निर्वाचनको मनोनयन प्रक्रियालाई ध्यानमा राख्दै निर्वाचन आयोगले अत्यन्त छिटो अद्यावधिकको काम टुंग्याउनुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो।
उहाँले यो विषय कुनै दलभित्रको विवाद नभई विधिपूर्वक सम्पन्न महाधिवेशनको विवरण अद्यावधिक गर्ने सामान्य प्रशासनिक प्रक्रिया मात्र भएको स्पष्ट पार्नुभयो। आयोगले यसलाई छिटो टुंग्याएर पार्टीभित्र र बाहिर देखिएका अन्योल र दुविधा अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ।
सभापति थापाले विशेष महाधिवेशन आधिकारिक भएकाले आफूहरू नै आधिकारिक नेपाली काँग्रेस भएको दाबीसमेत गर्नुभएको छ।
फोटो : न्युज एजेन्सी नेपाल
