काठमाडौँ। बेलायत सरकारले २५ फेब्रुअरीदेखि दोहोरो (बेलायत–न्युजिल्यान्ड) नागरिकले अब अनिवार्य रूपमा बेलायती पासपोर्ट प्रयोग गर्नुपर्ने नयाँ नियम लागू गरेपछि न्युजिल्यान्डमा बसोबास गर्ने धेरै दोहोरो नागरिक आक्रोशित भएका छन्।

आरएनजेड (RNZ) का अनुसार आगामी फेब्रुअरी २५ देखि बेलायतमा जन्मिएका वा बेलायती नागरिकता भएका व्यक्तिले न्युजिल्यान्ड पासपोर्ट प्रयोग गरेर बेलायत यात्रा गर्न पाउने छैनन्। यसअघि दोहोरो नागरिकहरूले न्युजिल्यान्ड पासपोर्टका आधारमा ईटीए (Electronic Travel Authorisation) लिएर बेलायत प्रवेश गर्न सक्थे। बेलायती सरकारले यो व्यवस्था अस्थायी मात्र भएको र अब आफ्ना नागरिकले अनिवार्य रूपमा बेलायती पासपोर्टमै यात्रा गर्नुपर्ने जनाएको छ।

“हामीलाई दोश्रो दर्जाको नागरिकजस्तो व्यवहार गरियो”

न्युजिल्यान्डमा बसोबास गर्ने धेरै दोहोरो नागरिकले आफूहरूलाई ‘दोश्रो दर्जाको नागरिक’ जस्तो व्यवहार गरिएको गुनासो गरेका छन्। अब बेलायत जान अतिरिक्त पासपोर्ट बनाउनुपर्ने, समय र खर्च दुवै बढ्ने भएको उनीहरूको भनाइ छ। कला इतिहासकार तथा पूर्व ते पापा संग्रहालयका क्युरेटर मार्क स्टकरले भने, “जन्मस्थानको आधारमा यस्तो व्यवहार हुनु विभेदजस्तो लाग्छ। म कुनै अपराधी होइन, तर अब बेलायत जानका लागि झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने भयो। नयाँ नियमबारे पर्याप्त सूचना नदिइएकोले निर्णय एकाएक आएको जस्तो महसुस भयो।”

अन्य देशहरूमा पनि कडा नियम

यस प्रकारको नियम क्यानडालगायत अन्य देशहरूमा पनि लागू भइसकेको छ। डुनेडिनमा बसोबास गर्ने क्यानडाली नागरिक मार्कले क्यानडामा पनि दोहोरो नागरिकलाई अनिवार्य रूपमा क्यानडाली पासपोर्टमै यात्रा गर्नुपर्ने नियम लागू भएको अनुभव सुनाए। उनले भने, “समयमै थाहा नपाएको भए हामी विमानस्थलमै रोकिन्थ्यौं। अन्तिम समयमा आपतकालीन अनुमति लिनुपरेको थियो।”

न्युजिल्यान्ड ट्राभल एजेन्ट संघले यात्रुहरूलाई यात्रा अघि सबै कागजात राम्रोसँग जाँच गर्न आग्रह गरेको छ। संघकी प्रमुख कार्यकारी जुली ह्वाइटले भनिन्, “फेब्रुअरी २५ धेरै टाढा छैन। पासपोर्ट समयमै नआउला भन्ने डरले यात्रुहरूमा चिन्ता बढेको छ।”

बेलायती उच्चायोगको स्पष्टिकरण

बेलायती उच्चायोगले गत वर्षदेखि नै नयाँ नियमबारे सूचना दिइरहेको दाबी गरेको छ। उच्चायोगका अनुसार १८ अगस्ट २०२५ देखि दोहोरो नागरिकका लागि सूचना जारी गरिएको थियो।

उच्चायोगको विज्ञप्तिमा भनिएको छ, “बेलायती नागरिकले बेलायत प्रवेश गर्दा अनिवार्य रूपमा बेलायती पासपोर्ट प्रयोग गर्नुपर्छ। बेलायती नागरिकले ईटीए आवेदन दिन पाउँदैनन्।”

उच्चायोगले बेलायत भ्रमण गर्ने योजना बनाएका सबै बेलायती नागरिकलाई यथाशीघ्र पासपोर्ट नवीकरण गर्न आग्रह गरेको छ। नयाँ नियम लागू भएपछि हजारौँ दोहोरो नागरिकको यात्रामा असर पर्ने देखिएको छ र यस विषयमा बेलायती सरकारको निर्णयप्रति न्युजिल्यान्डमा व्यापक असन्तोष बढ्दै गएको छ। समाचार स्रोत : https://www.rnz.co.nz/