काठमाडौँ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्स कम्पनीहरूले बिना कारण यात्रुलाई फर्काउने प्रथा रोक्न अध्यागमन विभागले कडाइ लागू गर्ने भएको छ। अब आवश्यक कागजात भएको यात्रुलाई बहाना बनाएर बोर्डिङ पास नदिई फर्काइएमा त्यससको सम्पूर्ण जिम्मेवारी र क्षतिपूर्ति एयरलाइन्सकै हुनेछ।
महानिर्देशक रामचन्द्र तिवारीका अनुसार अब कुनै यात्रु फर्काउनै परे एयरलाइन्सले लिखित कारण यात्रु र अध्यागमनलाई बुझाउनै पर्नेछ। हालै दुबई, कतार, मलेसिया जाने १०० भन्दा बढी यात्रु स्पष्ट कारणबिना फिर्ता गरिएपछि विभागले छानबिन सुरु गरेको छ।
हालै संशोधन गरिएको ‘भिजिट भिसा मापदण्ड–२०८०’ ले वैध राहदानी, भिसा, एकतर्फी टिकट र स्वघोषणा भए विदेश यात्रा रोक्न नपाइने प्रबन्ध गरेको छ। पहिलाका कठोर प्रावधान हटेपछि गिरोहको प्रभाव कमजोर हुँदै जाँदै गर्दा केही पक्षले फेरि यात्रुलाई अनावश्यक झन्झट दिन खोजेको आशंका विभागको छ।
बिहीबारको घटनापछि अध्यागमनले अन्तर्राष्ट्रिय उडान गर्ने ८ एयरलाइन्सका प्रतिनिधिलाई बोलाएर चेतावनी सहित छलफल गरेको छ। अब एयरलाइन्सले यात्रु ‘अफलोड’ गरेमा कारण अनिवार्य रूपमा लिखित दिनुपर्ने नियम लागू हुनेछ।
विगतमा भिजिट भिसाका कठोर प्रावधानकै नाममा विमानस्थलमा असुलीधन्दा र गिरोहको प्रभाव देखिएको थियो। त्यसकै सम्बन्धमा तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईसमेत अख्तियारको अनुसन्धानमा परेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रु जथाभावी फर्काउन एयरलाइन्स कम्पनीहरूलाई रोक लगाइने भएको छ । नियम–कानुनले तोकेका कागजात नमिलेको अवस्थामा बाहेक बहाना बनाएर फिर्ता गरिए यात्रुलाई हुने नोक्सानको क्षतिपूर्तिसहित सम्पूर्ण जिम्मेवारी सम्बन्धित एयरलाइन्सकै रहनेछ ।
एयरलाइन्सहरूले विभिन्न बहानामा यात्रुलाई बोर्डिङ पास नै नदिई फर्काउन थालेपछि नियमनमा कडाइ गर्ने निर्णय भएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । ‘अब एयरलाइन्सहरूले विमानस्थलबाटै फर्काउनुपरे सम्बन्धित यात्रु र अध्यागमनलाई कारण खुलाएर पत्र दिनुपर्छ,’ उनले भने, ‘यात्रुसँग आवश्यक कागजात हुँदाहुँदै बहाना बनाएर बोर्डिङ पास दिइएन र विमानस्थलबाटै फिर्ता गरियो भने सम्पूर्ण जिम्मेवारी सम्बन्धित एयरलाइन्सको हुनेछ, यसबारे सम्बद्ध पक्षलाई परिपत्र गर्दै छौं ।’
