मे १० मा अकल्यान्डमा हुने नेपथ्य लाइभ कन्सर्टको वेटलिस्ट टिकट सोमबारबाट खुल्ने भएको छ । आयोजक संस्था लाखे इभेन्ट्सले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस्तो जानकारी दिएको हो ।
नेपाली लोक–रक संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाइसकेको चर्चित ब्याण्ड नेपथ्यको लाइभ कन्सर्टका लागि आफूहरू अत्यन्तै उत्साहित रहेको लाखे इभेन्ट्सले जनाएको छ । आयोजकले समयमै टिकट बुकिङ गरी आफूले चाहेको सिट सुरक्षित गर्न दर्शकलाई आग्रह गरेको छ ।
कन्सर्ट न्युजिल्यान्डको अकल्यान्डस्थित माउन्ट स्मार्ट स्टेडियम इभेन्ट सेन्टरमा आयोजना हुँदै छ । लाखे इभेन्ट्सले कार्यक्रम हुने मिति र स्थानबारे यसअघि नै पत्रकार सम्मेलनमार्फत जानकारी दिएको भए पनि टिकटबारे भने केही खुलाएको थिएन ।
नेपाली लोक–रक संगीतलाई विश्वमाझ स्थापित गरिसकेको नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न न्युजिल्यान्डवासी नेपाली समुदाय लामो समयदेखि उत्साहित र प्रतीक्षारत रहेका छन् । यो प्रस्तुति नौ वर्षपछि हुन लागेकाले पनि न्युजिल्यान्डमा रहेका नेपालीहरू उत्साहित भएका हुन् । यसपटक नेपथ्यको प्रस्तुति अकल्यान्डमा मात्र हुने भएकाले कार्यक्रमप्रति दर्शकको चासो र रुचि झनै बढेको आयोजकको भनाइ छ ।
लाखे इभेन्ट्सका प्रतिनिधि प्रेमेश देवकोटाले जानकारी दिँदै भन्नुभयो, “नेपथ्य नेपाली समुदायका लागि केवल एउटा ब्याण्ड मात्र होइन, यो भावना र पहिचान हो । अकल्यान्डमा आयोजना हुन लागेको यो साँझलाई स्मरणीय बनाउन हामीले सबै तयारी तीव्र बनाएका छौँ ।”
