काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच पुनः भेटवार्ता भएको छ । उक्त भेटलाई नेपाली सञ्चार माध्यम तथा अन्य राजनीतिक दलहरूले दिनभर विशेष महत्वका साथ हेरिरहेका छन् ।
रास्वपा सभापति लामिछाने मेयर शाहसँग भेटवार्ता गरेर बाहिरिसकेका छन् । तर, भेटमा के विषयमा छलफल भयो भन्नेबारे उनले कुनै विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् । उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ‘वार्ता सफल भएको’ मात्र बताएका छन् ।
उनीहरूबीचको भेट ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भएको हो । यसअघि पनि मेयर शाह र सभापति लामिछानेबीच करिब छ घण्टा लामो भेटवार्ता भएको थियो, जसले राजनीतिक वृत्तमा थप चासो बढाएको थियो ।
अध्यक्ष लामिछानेसंगको भेट लगतै जेन–जी आन्दोलनका अगुवा रक्ष बम, रास्वपाका नेता शिशिर खनाल तथा नेता अमृरेश यादवलगायतका व्यक्तिहरूले पनि बालेसंग भेट गर्न पुगेका थिए । यो समाचार तयार गर्दा सम्म पनि उनीहरु पनि फर्किएका छन् र भेटबारे केही खुलाएका छैनन् ।
भेटको औपचारिक विवरण सार्वजनिक नभए पनि मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीचको निरन्तर संवादले आगामी राजनीतिक सहकार्य र सम्भावित रणनीतिबारे विभिन्न अड्कलबाजीलाई बल दिएको छ ।
