चेतन शर्मा पौडेल / अशबर्टन।
न्युजिल्यान्डको अशबर्टन क्षेत्रमा रहेका नेपाली समुदायको साझा संस्था मिड क्यान्टरबरी नेपाली एसोसिएसन इन्कको सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा दिपक थापा चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा गोपालप्रसाद कँडेल, महासचिवमा रोहित रञ्जित, सचिवमा कृष्ण खड्का तथा कोषाध्यक्षमा मीरा खत्री निर्वाचित भएका छन्। यस्तै, कार्यसमिति सदस्यहरूमा जगत लिम्बु, तीर्थ घिमिरे, दिनेश थापा मगर र सीता लमिछाने चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई नेपाली समुदायका सदस्य, विभिन्न सामाजिक संस्था तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले नयाँ नेतृत्वले अशबर्टन तथा मिड क्यान्टरबरी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
नयाँ कार्यसमितिले नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै खेलकुद, सामाजिक, शैक्षिक र सांस्कृतिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। साथै, नयाँ पुस्तालाई नेपाली पहिचान, भाषा र संस्कृतिसँग जोड्दै समुदायको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसमेत अघि सारेको छ ।
मिड क्यान्टरबरी नेपाली एसोसिएसनले विगतदेखि नै अशबर्टन क्षेत्रमा रहेका नेपालीहरूको साझा संस्थाका रूपमा विभिन्न सांस्कृतिक, सामाजिक तथा परोपकारी कार्यक्रम आयोजना गर्दै आएको छ।
