परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एसिया (मध्यपूर्व) सहित विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति नेपाल सरकार गम्भीर र सजग रहेको बताउनुभएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। उहाँले पछिल्लो समय मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रम तथा त्यसका कारण हवाई सेवामा परेको असरले नेपाली नागरिकको आवतजावतमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्नुभयो।

सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘आपत्कालीन नियन्त्रण कक्ष’ सञ्चालनमा ल्याइसकेको जानकारी दिँदै मन्त्री शर्माले सो कक्षले विदेशमा रहेका नेपाली र स्वदेशमा रहेका उनीहरूका परिवारबीच सूचना आदानप्रदान तथा समन्वयको माध्यमका रूपमा काम गर्ने बताउनुभयो।

मन्त्री शर्माले विश्वका केही क्षेत्रमा बढ्दो अस्थिरताले प्रवासमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको उल्लेख गर्दै विशेषगरी पश्चिमी एसियामा कार्यरत नेपालीहरूको अवस्थाबारे सरकार सचेत रहेको बताउनुभयो। हवाई सेवा प्रभावित हुँदा उत्पन्न समस्यालाई मध्यनजर गर्दै आवश्यक सुरक्षा र सहायताका उपायहरू अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

उहाँले पश्चिमी एसिया क्षेत्रमा रहेका नेपाली नागरिकलाई कुनै समस्या परेमा सम्बन्धित देशस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहन र आफ्नो अवस्थाबारे जानकारी गराउन आग्रह गर्नुभयो।

विषम परिस्थितिमा नेपाली नागरिकहरूको हकहित संरक्षणका लागि गैरआवासीय नेपाली सङ्घले गर्दै आएको सहयोग र सहकार्य प्रशंसनीय रहेको मन्त्री शर्माले उल्लेख गर्नुभयो। भूकम्प, बाढीपहिरो तथा कोभिड–१९ महामारीका बेला गैरआवासीय नेपालीहरूले पुर्‍याएको योगदान स्मरण गर्दै उहाँले आगामी दिनमा पनि यस्तो सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।