निर्वाचन आयोगले कुनै पनि राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ। आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरको मतदाता नामावली लिन १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दललाई दलको औपचारिक पत्रको आधारमा मतदाता विवरण उपलब्ध गराइने व्यवस्था गरिएको छ। आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकका विवरण विद्युतीय रूपमा उपलब्ध गराउने जनाएको छ।

आयोगका अनुसार हार्डड्राइभ वा पेनड्राइभमार्फत यस्तो विवरण प्रदान गरिनेछ। कुनै दललाई एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा पाँच हजार रुपैयाँ शुल्क तिरेर लिन सकिनेछ।

निर्वाचन अधिकृतले कुनै मतदाता, दलका प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा प्रतिलिपि बनाउन चाहेमा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनुपर्ने व्यवस्था गरिएको छ।

फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउने छन् भने फोटोबाहेकको मतदाता नामावली भने जोसुकैले हेर्न सक्ने जानकारी मतदाता, दल र उम्मेदवारलाई दिनुपर्नेछ।

कुनै मतदाताले आफ्नो विवरण मात्र भएको मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिई त्यस्तो मतदाताको विवरण मात्र समावेश भएको नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

यस्तै, आयोगमा दर्ता भएका राजनीतिक दललाई दलको पत्रको आधारमा र स्वतन्त्र उम्मेदवारलाई निजको निवेदनका आधारमा निर्वाचन कार्यालयले निश्चित दस्तुर लिई जन्ममिति, नागरिकता नम्बर तथा मोबाइल नम्बरबाहेकको मतदाता नामावली विद्युतीय रूपमा उपलब्ध गराउनेछ।

यसका लागि जिल्लाभरको मतदाता नामावली लिन तीन हजार रुपैयाँ र कुनै एक निर्वाचन क्षेत्रको मतदाता नामावली लिन तीन हजार रुपैयाँ शुल्क तोकिएको छ।

आयोगले स्पष्ट पारेको छ कि मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकता सम्बन्धी विवरण भने कुनै पनि अवस्थामा उपलब्ध गराइने छैन।