अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका तीन सदस्यको हत्या गरेको आरोपमा एक नेपाली मूलका व्यक्ति प्रहरीको गोली लागेर मृत्यु भएका छन्। सोमबार बिहान मान्टुआ नजिक पर्सिमोन ड्राइभको ३९०० नम्बर क्षेत्रमा रहेको एक आवासभित्र उक्त घटना भएको हो।

नेपाली समाचार माध्यम खसोखास डट कमका अनुसार घटनामा संलग्न व्यक्ति छत्रबहादुर थापा हुन्। मृत्यु हुनेमा उनकी ५१ वर्षीया श्रीमती बिन्दा थापा, ३१ वर्षीया छोरी ममता थापा र ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापा रहेका छन्।

प्रहरीका अनुसार करिब ५० वर्षका ती व्यक्तिले बिहान करिब पाँच बजे आफ्नी श्रीमती र छोरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा उनीहरूलाई अस्पताल लगिएको थियो तर उपचारका क्रममा दुवै जनाको ज्यान गएको थियो।

फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार प्रहरी घटनास्थलमा पुग्दा संदिग्ध व्यक्ति आफ्ना ज्वाइँमाथि पनि धारिलो हतियार प्रहार गरिरहेका थिए। हतियार भुइँमा राख्न पटक–पटक निर्देशन दिँदा पनि नमानेपछि एक प्रहरी अधिकृतले गोली चलाएका थिए। गोली लागेपछि प्रहरीले तत्काल उद्धार प्रयास गरे पनि घटनास्थलमै उनको मृत्यु घोषणा गरिएको थियो।

घटनास्थलमा एक वर्षको शिशु पनि रहेको तर उसलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ। शिशुलाई बाल संरक्षण सेवाको जिम्मा लगाइएको छ।

प्रहरी प्रमुख डेभिसका अनुसार ज्वाइँ घरबाहिर सवारी साधनबाट हिउँ हटाइरहेका बेला आवासभित्रबाट चर्को आवाज र होहल्ला सुनेपछि आपतकालीन सेवामा खबर गरेका थिए। त्यसपछि उनी भित्र प्रवेश गर्दा श्रीमती र सासूमाथि धारिलो हतियार प्रहार भएको र रगतले लतपतिएको अवस्था देखेका थिए। नजिकै बस्ने अर्का एक व्यक्तिले पनि घरेलु झगडाको आवाज सुनेर प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थलबाट करिब दश इन्च लामो मासु काट्ने औजारजस्तो देखिने घुमाउरो खुँडा बरामद गरेको जनाएको छ। उक्त परिवारको घरमा यसअघि घरेलु हिंसा सम्बन्धी कुनै उजुरी वा प्रहरी बोलाइएको अभिलेख फेला नपरेको भए पनि घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी शरीरमा जडान गरिएको दृश्य अभिलेख उपकरणबाट प्राप्त दृश्यको समेत समीक्षा गरिएको छ। प्रारम्भिक मूल्याङ्कनमा थप मानवीय क्षति रोक्न आवश्यक प्रक्रिया अनुसार बल प्रयोग गरिएको देखिएको प्रहरी प्रमुखले बताएका छन्।