बेलायत
चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयल (स्टेज नेम ‘गेट्स’) ले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। लन्डन महानगरीय प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार स्यामुयलले कानूनले निर्धारण गरेको गति सीमा उल्लङ्घन गर्दै गाडी चलाएका थिए।
प्रहरीले जनाएको अनुसार ४१ वर्षीय स्यामुयलले ३० माइल प्रतिघण्टा सीमित सडकमा ६० माइलभन्दा बढी गतिमा गाडी चलाउँदा २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङलाई ठक्कर दिएका थिए। घटना गत अक्टोबर १८ का राति ११ः३० बजे लन्डनको इल्फोर्ड, रेडब्रिजमा भएको थियो। ठक्कर दिएपछि स्यामुयल घटनास्थलबाट फरार भएका थिए।
ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा दुई दिनपछि मृत्यु भयो। गत वर्ष सेप्टेम्बरमा बेलायत पुगेका उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा बीएससी बिजनेस म्यानेजमेन्ट दोस्रो वर्षमा अध्ययनरत थिए।
घटनाको अनुसन्धानका प्रमुख महानगरीय प्रहरी निरीक्षक मार्क ब्रथवेटले भने, “हाम्रो समवेदना युविनको परिवारका लागि समर्पित छ। अपराधस्वीकार न्यायप्राप्तिको दिशामा महत्वपूर्ण कदम हो, जसले परिवारलाई केही राहत मिल्ने अपेक्षा छ।”
बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले पनि आरोपीले घटनामा संलग्नता स्वीकार गर्नु पीडित परिवारका लागि न्याय प्राप्तिको सकारात्मक प्रगति भएको बताए। दूतावासले घटनापछिका सबै चरणमा सक्रिय रूपमा सहजीकरण गरिरहेको उनले उल्लेख गरे।
दुर्घटनापछि भागेका स्यामुयलको घरमा खोजतलास गर्दा भोलिपल्टै बिहान उनकै नाममा दर्ता र बीमा गरिएको क्षतिग्रस्त कार प्रहरीले बरामद गरेको थियो।
यस घटनामा दोषी ठहर भइसकेका स्यामुयललाई आगामी माघ २९ गते अर्थात ९ फेब्रुअरीमा अदालतले सजाय सुनाउने जनाइएको छ।
