राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले पार्टीको केन्द्रीय कार्यालयमा पहिलोपटक औपचारिक रूपमा उपस्थित भई संगठनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउनुभएको छ। आइतबार दिउँसो वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुग्नुभएका साहलाई पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूले तामझामसहित भव्य स्वागत गरेका थिए।

गत पुस महिनामा रास्वपासँग सातबुँदे सहमति गर्दै पार्टीमा समाहित हुनुभएका साह पार्टीको वरिष्ठ नेताका रूपमा आबद्ध भएयता आज पहिलोपटक औपचारिक रूपमा कार्यालय पुग्नुभएको हो। उहाँ आजै बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुन कार्यालय पुग्नुभएको पार्टी स्रोतले जनाएको छ।

रास्वपाले आगामी निर्वाचनमा बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने घोषणा गरिसकेको छ। साहको पार्टी प्रवेशसँगै रास्वपाको राजनीतिक हैसियत थप मजबुत भएको र नयाँ नेतृत्वप्रति जनआकर्षण बढेको पार्टी नेताहरूको भनाइ छ।

पार्टी कार्यालयमा साहको आगमनलाई लिएर कार्यकर्ताहरू उत्साहित देखिएका थिए। स्वागत कार्यक्रममा नाराबाजी, फूलमाला र शुभकामनासहित पार्टीभित्र नयाँ ऊर्जा र एकताको सन्देश प्रवाह भएको थियो।

रास्वपाले साहको नेतृत्वमा वैकल्पिक राजनीतिलाई सशक्त बनाउने लक्ष्य लिएको बताउँदै आएको छ। आजको बैठकमा आगामी राजनीतिक रणनीति, संगठन विस्तार र निर्वाचन तयारीका विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ। फोटो : न्युज एजेन्सी नेपाल