राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ८५ वर्षको अवधिमा पटक–पटक राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गर्नुभएको छ। शुक्रबार शहीद दिवसका अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
राणाशासनको अन्त्यका लागि संघर्ष गरेका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गर्दै बालेनले त्यसको एक दशकपछि राणाशासन अन्त्य भए पनि राज्य जनताको हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गर्नुपरेको बताउँदै ८५ वर्षमा व्यवस्था त फेरिए तर सत्ताको चरित्र यथावत् रहेको टिप्पणी गर्नुभयो।
उहाँले पटक–पटक नेपाली जनता शहीद भए पनि शहीदका सपना पूरा हुन नसकेको उल्लेख गर्नुभयो। भदौ महिनामा भएको जेन–जी आन्दोलनका क्रममा सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले समेत ज्यान गुमाउनुपरेको घटनाप्रति दुःख व्यक्त गर्नुभयो।
बालेनले अहिले आफूहरू शहीदका सपना पूरा गर्ने दिशामा अघि बढिरहेको दाबी गर्नुभयो। लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नु र नेपाललाई आर्थिक रूपमा उन्नत राष्ट्र बनाउनु आफ्नो पुस्ताको दायित्व भएको उहाँको भनाइ छ। साथै राज्यका निकायमा मौलाएको चरम दलीयकरण अन्त्य गरी राज्यलाई जवाफदेही र पारदर्शी बनाउने जिम्मेवारी पनि आफूहरूमाथि रहेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब कसैलाई नभएको स्पष्ट पार्दै शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना साकार पार्ने समय आएको बताउनुभयो। सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश निर्माण गर्न सबै प्रतिबद्ध हुनुपर्ने उहाँको आह्वान छ।
सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै बालेनले अब फेरि कसैले शहीद बन्नु नपरोस् भन्ने कामना व्यक्त गर्नुभयो र सबै शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो।
