देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाउँदै शहीदहरूको स्मरण गरिएको छ।

शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद पार्क (शहीद स्मारक) मा मुख्य समारोह आयोजना गरी ज्ञात तथा अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा शहीदहरूको सम्झनामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरियो।

श्रद्धाञ्जली कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, अन्तरिम सरकारका मन्त्रीहरू तथा अन्य उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका लागि राणाकालीन तथा विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण शहीदहरूको सम्मानमा शहीद दिवस मनाइँदै आएको छ।

माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रूपमा विविध कार्यक्रम आयोजना गरिन्छ। आजको मुख्य समारोहले शहीदहरूको बलिदानलाई स्मरण गर्दै राष्ट्रिय एकता, लोकतन्त्र र प्रजातान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने संकल्पलाई पुनः दोहोर्‍याएको छ।