आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि २१ माघ (बुधबार) देखि नेपाली सेना परिचालन हुने भएको छ। निर्वाचनपूर्व सुरक्षा योजनाअनुसार सेना फिल्ड गस्तीमा निस्कन लागेको हो।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत का अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुरूप २१ माघदेखि सेना परिचालन सुरु हुनेछ। “हाम्रोतर्फको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचनपूर्वको सुरक्षा रणनीतिअनुसार २१ माघबाट सेना फिल्डमा खटिन्छ,” उनले बताए।

निर्वाचनलाई लक्षित गरी देशभर ७९ हजार ७२७ जना नेपाली सेना परिचालन हुनेछन्। संवेदनशीलता र आवश्यकताअनुसार गस्ती तथा पेट्रोलिङ गरिनेछ भने संवेदनशील क्षेत्र र मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी संयुक्त गस्तीसमेत हुने बताइएको छ। सेनाले निर्वाचन अधिकृत तथा सुरक्षा निकायसँगको समन्वयमा तेस्रो घेरामा रहेर सुरक्षा जिम्मेवारी निर्वाह गर्नेछ।

मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेल ले सेना परिचालनका लागि स्वीकृति दिएका थिए। त्यसपछि सेनाले एकीकृत सुरक्षा योजना तयार पार्नुका साथै त्यसअनुसार संयुक्त तालिम र अभ्यास सम्पन्न गरेको छ। ९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदन ३० कात्तिकमा पास भएसँगै अहिले सोही योजनाअनुसार सुरक्षा ड्युटी सुरु गरिएको हो।

हवाई गस्ती र हेलिकप्टर व्यवस्था

निर्वाचन अवधिमा सेनाले हवाई गस्ती समेत गर्नेछ। विकट तथा अतिसंवेदनशील क्षेत्रमा हवाई निगरानीका साथै निर्वाचन अवधि र निर्वाचनपश्चात मतपेटिका ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिनेछ। यसका लागि सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरी गरी पाँच स्थानमा स्ट्याण्डबाइ हेलिकप्टर राखिएको छ। सडक सञ्जाल नपुगेका क्षेत्रमा हेलिकप्टरमार्फत मतपेटिका तथा मतपत्र ढुवानी गरिनेछ।

बम डिस्पोजल टोली तैनाथ

निर्वाचन भाँड्न खोज्ने सम्भावित गतिविधिलाई ध्यानमा राख्दै बम डिस्पोजल टोली पनि तैनाथ गरिएको छ। अतिसंवेदनशील मतदानस्थल केन्द्रित गरी विस्फोटक पदार्थ वा होक्स वस्तु निष्क्रिय पार्न टोली परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ।

यसपटक केही राजनीतिक समूहहरूले निर्वाचन बहिस्कारको घोषणा गरे पनि ती समूहहरू सशक्त नरहेको सुरक्षा निकायको आकलन छ।

महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा सेनाले

निर्वाचन अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा फिल्डमा खटिने भएकाले विमानस्थल, कारागार, सिंहदरबारलगायत महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्नेछ। यसअघिका निर्वाचनमा पनि यस्ता जिम्मेवारी सेनाले निर्वाह गर्दै आएको छ।

कति सुरक्षाकर्मी खटिन्छन्?

निर्वाचनका लागि कुल ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन हुनेछन्। यसमा नेपाली सेना ७९,७२७, नेपाल प्रहरी ७५,५९७, प्रहरी मातहतका निर्वाचन प्रहरी १,३०,९८०, सशस्त्र प्रहरी ३४,५७६, सशस्त्र मातहतका निर्वाचन प्रहरी १५,११० तथा १,९२१ गुप्तचर समावेश छन्।

३,६८० अतिसंवेदनशील मतदानस्थल

सुरक्षाका आधारमा मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी वर्गीकरण गरिएको छ। प्रहरीको आन्तरिक रिपोर्टअनुसार देशभर ३,६८० मतदानस्थल अतिसंवेदनशील सूचीमा छन्। सबैभन्दा चुनौतीपूर्ण क्षेत्रका रूपमा मधेश प्रदेश रहेको छ, जहाँ आठ जिल्लामा मात्रै १,२४६ अतिसंवेदनशील मतदानस्थल छन्। अन्य प्रदेशहरूमा कोशी ४३९, बागमती ३५४, गण्डकी ३२८, लुम्बिनी ३४, कर्णाली ३५८ र सुदूरपश्चिममा ४८१ अतिसंवेदनशील मतदानस्थल रहेका छन्।