पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ। उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा बाटोमै उहाँको निधन भएको हो। उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिएका दाहाल लोकतन्त्र, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर संघर्षरत व्यक्तित्व थिए। पञ्चायतकालको कठोर निरंकुश शासनका बेला समेत अन्याय र दमनविरुद्ध सत्यको कलम चलाएका दाहाल साहित्यकार समेत हुन्।

पञ्चायतकालमा ‘राष्ट्रपुकार साप्ताहिक’ मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उहाँ पटक–पटक पक्राउ पर्नुका साथै करिब तीन वर्ष जेल जीवन बिताउन बाध्य हुनुभएको थियो। उहाँले गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो।

दाहाल वि.सं. २०४९ देखि २०५१ सम्म नेपाल पत्रकार महासंघको सभापति रहनुभएको थियो भने प्रेस काउन्सिल नेपालका सदस्य भएर पनि सेवा गर्नुभएको थियो। नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजक भएर काम गर्नुभएका उहाँ २०६१ सालमा कृषि तथा सहकारी मन्त्री बनेका थिए।

नेपाली कांग्रेसले पूर्वमन्त्री एवं नेता होमनाथ दाहालको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै आजदेखि तीन दिनसम्म पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने सहभागी भएका थिएनन्। उनीहरू २७ र २८ गते हुने विशेष महाधिवेशनको तयारीमा जुटिरहेका छन्।