काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनाको विदेश उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। जेन्जी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएपछि उपचारका लागि विदेश गएका देउवा स्वदेश फर्किएलगत्तै पार्टीका नेता–कार्यकर्ता तथा समर्थकमाझ पुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता–कार्यकर्ताले देउवाको स्वागत गरेका थिए। सुरक्षाकर्मीको स्कर्टिङमा उनी चुनदेवीस्थित नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालय पुगेका थिए। त्यहाँ उपस्थित नेता–कार्यकर्ता तथा समर्थकले नाराबाजीसहित उनको स्वागत गरेका थिए।

चुनदेवीमा आयोजित कार्यक्रममा देउवाले आफू कुनै व्यक्तिगत शक्ति वा पद प्राप्तिका लागि नभई देशमा राष्ट्रिय एकता बलियो बनाउन स्वदेश फर्किएको बताएका छन्। उनले मुलुकमा देखिएको जटिल परिस्थितिको समाधानका लागि राजनीतिक तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिएका छन्।

स्वदेश फर्किएपछि जारी विशेष सन्देशमा देउवाले विगतका विभाजन, विद्वेष र असहमतिबाट सिर्जित घाउहरू निको पार्दै राष्ट्रिय एकता सुदृढ बनाउन सबै पक्षलाई आग्रह गरेका छन्। उनले लोकतान्त्रिक मूल्य, संविधान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्।

देउवा जेन्जी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि उपचारका लागि विदेश गएका थिए। उनी फागुन १३ गते राति सिंगापुर गएका थिए भने त्यसपछि थप उपचारका लागि हङकङ पुगेका थिए। लामो उपचारपछि उनी बिहीबार नेपाल फर्किएका हुन्।

स्वदेश फर्किएलगत्तै देउवा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारीमा समेत जोडिएका छन्। उनी शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ। तीन दिनसम्म चल्ने भनिएको भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजक पक्षको अपेक्षा छ।

यसैबीच, चुनदेवीस्थित कार्यक्रममा सम्बोधन गर्दै देउवाले आफू र पत्नी आरजु राणा देउवाविरुद्ध विगतमा उठाइएका कानुनी तथा राजनीतिक प्रश्नबारे पनि धारणा राखेका छन्। उनले आफूहरूमाथि विभिन्न निकायमार्फत अनुसन्धान र मुद्दा अघि बढाउने प्रयास भए पनि अदालतका निर्णयले आफूहरूलाई राहत दिएको दाबी गरे।

देउवाले आफ्नो सम्बोधनमा आफूविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा समेत मुद्दा चलाउने प्रयास भएको दाबी गर्दै त्यसमा आफूलाई पक्राउ गर्नुपर्ने आधार नदेखिएको बताएका छन्। उनले नेपालका अदालतबाट पनि आफू र पत्नीलाई पक्राउ नगर्न आदेश भएको दाबी गरे।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको प्रसङ्ग निकाल्दै देउवाले आफूविरुद्ध पटक–पटक छानबिनको प्रयास भए पनि त्यसबाट कुनै ठोस आधार नदेखिएको दाबी गरे। यद्यपि, उनका यी दाबीबारे सम्बन्धित निकायको छुट्टै प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

आफ्नो राजनीतिक यात्रामा विभिन्न चुनौती सामना गरेको उल्लेख गर्दै देउवाले आफूलाई कमजोर पार्ने प्रयास सफल नहुने संकेतसमेत गरेका छन्। उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग आफ्नो राजनीतिक संघर्षको प्रसङ्ग जोड्दै आफूले विगतमा सामना गरेका चुनौतीको स्मरण गरे।

देउवाको स्वदेश फिर्तीसँगै नेपाली कांग्रेसभित्र आगामी राजनीतिक दिशा, नेतृत्व, संगठन पुनर्संरचना र पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनबारे बहस थप चर्किने देखिएको छ। विशेषगरी संस्थापन इतर समूहको राष्ट्रिय भेला र त्यसमा देउवाको उपस्थितिलाई कांग्रेसको आगामी राजनीतिक रणनीतिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

लामो उपचारपछि स्वदेश फर्किएका देउवाले तत्काल पार्टीको सक्रिय राजनीतिमा कस्तो भूमिका निर्वाह गर्नेछन् भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ। तर उनको पहिलो सन्देशले व्यक्तिगत शक्ति संघर्षभन्दा राष्ट्रिय एकता, लोकतान्त्रिक शक्तिबीच सहकार्य र मुलुकको जटिल राजनीतिक अवस्थाको समाधानलाई प्राथमिकतामा राख्न खोजेको संकेत गरेको छ।

फोटो :कान्तिपुर