पछिल्लो तीन महिनाको अवधिमा ६१४ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। गृह मन्त्रालयले सार्वजनिक गरेको दोस्रो प्रगतिविवरणअनुसार उक्त अवधिमा यति संख्यामा नागरिकले आफ्नो नागरिकता त्यागेका हुन्।

मन्त्रालयका अनुसार यही अवधिमा ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको विवरण सच्याएका वा डाटा संशोधन गरेका छन्। नागरिकताको अभिलेख व्यवस्थापनलाई अद्यावधिक र व्यवस्थित बनाउने क्रममा विवरण सुधारको संख्या उल्लेख्य देखिएको छ।

गृह मन्त्रालयले जनाएको छ कि स्थायी रूपमा विदेश बसोबास गर्ने उद्देश्यले बाहिरिएका तथा सम्बन्धित देशको नागरिकता लिन चाहनेहरूले नेपाली नागरिकता परित्याग गर्ने गरेका छन्। वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विकसित मुलुकमा दीर्घकालीन बसोबास गर्ने योजनाका कारण पनि नागरिकता त्याग्ने प्रवृत्ति बढ्दो रहेको छ।

त्यस्तै, गैरआवासीय नेपाली नागरिकता लिने प्रक्रिया तथा विदेशी नागरिकसँग विवाह गरी विदेशमै बसोबास गर्ने अवस्थाले पनि नागरिकता परित्याग गर्नेको संख्या बढाएको मन्त्रालयको विश्लेषण छ। नेपालको कानुनले दोहोरो नागरिकताको व्यवस्था नगरेकाले विदेशी नागरिकता ग्रहण गर्नुअघि नेपाली नागरिकता त्याग्नु अनिवार्य हुन्छ।

तथ्यांकअनुसार सोही तीन महिनामा कुल दुई लाख दुई हजार ९५६ वटा नागरिकता जारी गरिएको छ। वंशजका आधारमा नागरिकता प्राप्त गर्नेको संख्या एक लाख १९ हजार १२ रहेको छ। २६ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् भने वैवाहिक आधारमा अंगीकृत नागरिकता लिनेको संख्या तीन हजार ३४० रहेको मन्त्रालयले जनाएको छ।