न्युजील्यान्डमा पछिल्लो समय वर्क भिसा, सीजनल वर्क भिसा र अन्य श्रमिक भिसासम्बन्धी अफवाह तीव्र बनेपछि इमिग्रेसन न्युजील्यान्डले भिसा ठगी नियन्त्रणका लागि व्यापक स्तरको सचेतना अभियान सुरु गरेको छ। सामाजिक सञ्जाल, अनलाइन समाचार, व्यक्तिगत सन्देश तथा दूतावास वा इमिग्रेसनको नाममा गलत भ्रम फैल्याएर विभिन्न ब्यक्तिबाट पैसा उठाउने तथा नक्कली एजेन्टहरूको संख्या बढेसँगै सरकारले यसलाई गम्भीर सुरक्षा चुनौतीको रूपमा लिएको छ ।
इमिग्रेसन न्युजील्यान्डका अनुसार हाल भिसा सम्बन्धी गलत सूचना र अवैध एजेन्टहरूको सक्रियताका कारण धेरै नेपाली तथा अन्य देशका श्रमिकहरू ठगीमा परिरहेका छन्। केही व्यक्तिहरूले “१००% भिसा लाग्छ”, “दुई महिनाभित्र पक्का भिसा, “सरकारले नयाँ वर्क भिसा खुलायो” जस्ता कपोलकल्पित दाबी गरेर आम नागरिकलाई प्रलोभनमा पार्ने खालको दाबी पूर्ण समाग्रीहरु समाजिक सञ्जालहरुमा देखिएको छ । यस्ता कुराहरु न्युजील्यान्ड सरकार, दूतावास वा कुनै पनि आधिकारिक निकायले जारी नभएको स्पष्ट पारेको छ । भिसा प्रक्रियामा कसैले पनि ग्यारेन्टी दिने अधिकार राख्दैन, र यस्तो ग्यारेन्टी माग्ने वा दिने गतिविधि ठगीको स्पष्ट संकेत मानिन्छ उसले भनेको छ ।
यसै परिप्रेक्ष्यमा इमिग्रेसन न्युजील्यान्डले ‘Fighting Visa Fraud’ नामक विशेष अभियान सञ्चालन गरिरहेको छ। यो अभियानको मुख्य उद्देश्य भिसा प्रक्रियामा हुने अपराध, फर्जी कागजात, झुठा अफवाह र आर्थिक शोषणबाट आवेदकलाई जोगाउनु रहेको छ । अभियानमार्फत सरकारले जनतालाई भिसा प्रक्रियामा केवल आधिकारिक वेबसाइट, प्रमाणित इमिग्रेसन सल्लाहकार तथा दूतावाससँग मात्र सम्पर्क गर्न आग्रह गरेको छ। नक्कली एजेन्ट, फेसबुक पेज, टिकटक भिडियो, मेसेन्जरमार्फत आउने सन्देश तथा अनौपचारिक सूचना स्रोतलाई विश्वास नगर्न सबैमा सचेत गराएको छ ।
इमिग्रेसनले भिसासम्बन्धी गलत सूचना दिनेलाई कानुनी कारबाही गर्ने तयारी समेत गरेको बताएको छ। ठगीमा संलग्न समूहले झुट्टा विज्ञापन बनाइ कामको अवसर, तलब, आवास, यात्रा व्यवस्था, भिसा प्रक्रियाको अवधि र शुल्कका बारेमा गलत विवरण दिने गरेका कारण धेरै आवेदक आर्थिक र कानुनी रूपमा मारमा परेका छन्। पछिल्लो समय न्युजील्यान्डको नाममा बनेका फर्जी वेबसाइट, लोगो, नक्कली अफिसियल लेटरहेड र झुठ्ठा इमेलको प्रयोग समेत बढेको उल्लेख गरिएको पाइन्छ।
यही कारणले इमिग्रेसन न्युजील्यान्डले नागरिकहरूलाई “Protecting Yourself from Immigration Scams” नामक आधिकारिक पेज हेर्न सल्लाह दिएको छ। यस पेजमा भिसा प्रक्रियामा ठगी कस्तो हुन्छ, कसरी चिन्ने, कसरी रिपोर्ट गर्ने र आफूलाई कसरी जोगाउने भन्ने बारे विस्तृत जानकारी उपलब्ध छ। कसैले सन्दिग्ध माग, अनौठो प्रस्ताव वा अत्यधिक आकर्षक अफर दिएमा तुरुन्तै रिपोर्ट गर्न आग्रह गरिएको छ।
हाल न्युजील्यान्डको वर्क भिसा तथा सीजनल वर्क भिसा खुल्यो भन्ने समाचार विभिन्न सामाजिक सञ्जालमा फस्टाएको छ। तर सरकारका अनुसार अहिलेसम्म कुनै नयाँ घोषणा गरिएको छैन। केही नामचलाउन खोज्ने बिचौलियाले वर्क भिसा खुल्यो भन्दै असत्य प्रचार गर्दै वैदेशिक रोजगारी खोज्ने युवाबाट पैसा असुल्ने गरेको पाइएको छ। यस्ता भ्रामक गतिविधिले श्रमिकहरूको भविष्य मात्र होइन, उनीहरूको कानुनी अवस्थासमेत जटिल बनाइदिन्छ।
न्युजील्यान्ड सरकारले भिसा सुरक्षालाई अझ कडा बनाउन ँष्खभ ऋयगलतचथ ःष्लष्कतभचष्ब ि९ँऋः० राष्ट्रहरूसँग सहकार्य गर्दै आएको छ। यो सहकार्यको उद्देश्य अवैध मानव तस्करी, भिसा दुरुपयोग, नक्कली कागजात, गैरकानुनी रोजगार, फर्जी प्रतिवेदन र आव्रजन अपराध नियन्त्रण गर्नु हो। यसमार्फत सुरक्षा प्रणाली मजबुत बनाउने, जोखिमयुक्त आवेदन छनोट गर्ने र भिसा प्रक्रियालाई अझ पारदर्शी बनाउने योजना अघि बढाइएको छ।
सरकारका अनुसार भिसा प्रक्रिया जटिल र समय लाग्ने हुन्छ, र कुनै पनि आवेदकको भिसा परिणाम राजनीतिक, व्यक्तिगत वा आर्थिक प्रभावबाट प्रभावित हुँदैन। भिसा लाग्न सामान्यतया २ महिना वा सोभन्दा बढी समय लाग्न सक्छ, र यसलाई छिटो गरिदिने दाबी समेत पूर्ण रूपमा झूटो हो। आधिकारिक प्रक्रिया बाहेक कुनै पनि माध्यमबाट भिसा छिटो, सजिलो वा निश्चित रूपमा प्राप्त गर्न सकिँदैन।
न्युजील्यान्डले आवेदकहरूलाई आफ्नो व्यक्तिगत कागजात कसैलाई नदिन, अनौपचारिक लिंकमा क्लिक नगर्न, आधिकारिक इमेल र वेबसाइट मात्र प्रयोग गर्न र भिसासम्बन्धी सबै जानकारी सरकारी स्रोतबाट मात्र पुष्टि गर्न आग्रह गरेको छ। भिसा प्रक्रियामा गलत बाटो अपनाउन खोज्नु स्वयं आवेदककै लागि कानुनी समस्यामा परिणत हुन सक्छ, त्यसैले सजग, सतर्क र सचेत रहनु सबैभन्दा महत्वपूर्ण र ठगीबाट जोगिने एक मात्र उपाय बन्ने देखिन्छ ।
