वेलिङ्टन । न्युजील्याण्डमा बेरोजगारी दर बढेर ५.४ प्रतिशत पुगेको छ, जुन सन् २०१५ सेप्टेम्बरयताकै उच्च स्तर हो। यसअघि सन् २०२५ को सेप्टेम्बर त्रैमासिकमा बेरोजगारी दर ५.३ प्रतिशत थियो, जसलाई त्यतिबेला नौ वर्षकै उच्च मानिएको थियो।

Stats NZ ले बिहीबार सार्वजनिक गरेको श्रम बजारसम्बन्धी तथ्यांकअनुसार डिसेम्बर २०२५ त्रैमासिकमा बेरोजगारको संख्या १ लाख ६५ हजार पुगेको छ। अघिल्लो सेप्टेम्बर त्रैमासिकमा यो संख्या १ लाख ६० हजार रहेको थियो, जसले बेरोजगारी निरन्तर बढ्दो क्रममा रहेको देखाएको छ।

यद्यपि पछिल्लो त्रैमासिकमा करिब १५ हजार मानिसले रोजगारी पाएको तथ्यांकले देखाए पनि कुल श्रम बजारको अवस्था अपेक्षाअनुसार बलियो देखिएको छैन। सार्वजनिक तथ्यांक अर्थशास्त्रीहरू तथा रिजर्भ बैंक अफ न्युजील्याण्डले गरेको पूर्वानुमानभन्दा कमजोर आएको बताइएको छ।

आर्थिक मन्दीको असर, उच्च ब्याजदर, सरकारी खर्चमा कटौती तथा निजी क्षेत्रको लगानी सुस्त हुँदा रोजगारी सिर्जनामा दबाब परेको छ। विशेषगरी निर्माण, खुद्रा व्यापार र सेवामूलक क्षेत्रमा रोजगारीको वृद्धि कमजोर देखिएको छ।