न्युजील्याण्डका विभिन्न क्षेत्रमा लगातार परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। घटनामा दुई जना बेपत्ता भएका छन् भने एक जना गम्भीर घाइते भएको न्युजील्याण्ड प्रहरीले जानकारी दिएको छ।
बाढी र पहिरोका कारण विभिन्न जिल्लाहरू प्रभावित भएका छन्। बाढीका कारण धेरै मानिस घरबारविहीन भएका छन् भने धेरै सडकहरू बन्द भएका छन्।
इता, वेलकम बेमा आएको पहिरोले एक घर क्षतिग्रस्त हुँदा दुई जना बेपत्ता भएका छन् भने एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान ४:१५ बजे वेलकम बे रोडमा पहिरो गएको सूचना प्राप्त भएको थियो। घटनापछि सो क्षेत्रका केही घरहरू खाली गराइएको छ। बाढी र पहिरोमा फसेकाहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नर्थल्यान्ड, कोरोमाण्डेल, बे अफ प्लेन्टी, हौराकी र ते आरारोवा लगायतका क्षेत्रमा अझै पनि भारी वर्षा परिरहेको छ र आपतकालीन अवस्था कायमै छ। कोरोमाण्डेलको टाइरुआमा पहिरोले एक घर पुरिँदा त्यहाँ बस्दै आएका दुई जनाको भने सकुशल उद्धार गरिएको छ।
यसैबीच, तोलागा बेबाट करिब १५ परिवार सुरक्षित स्थानमा सारिएका छन्। टे आरारोआमा बाढीका कारण घरको छानामा फसेकाहरूको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ।
मेटसर्भिसले उत्तरी टापुका लागि जारी सबै भारी वर्षा चेतावनी हटाएको छ भने दक्षिणी टापुका केही क्षेत्रमा अझै वर्षा निगरानी र चेतावनी जारी छन्।
