न्युजिल्याण्ड नेपाल सोसाइटीले आगामी ११ अप्रिल २०२६ मा अकल्याण्डस्थित अओटिया स्क्वायरमा ‘नेपाल फेस्टिवल २०२६’ आयोजना गर्ने औपचारिक निर्णय गरेको छ। सोसाइटीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी गरेको सूचनाअनुसार महोत्सव नेपाली कला, संस्कृति, परम्परा, संगीत, खानपान तथा सामुदायिक एकताको उत्सवका रूपमा मनाइने उल्लेख गरिएको छ।

सोसाइटीका अध्यक्ष रोषन खड्काका अनुसार न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गर्नुका साथै नेपालको मौलिक सांस्कृतिक पहिचानलाई बहुसांस्कृतिक समाजसमक्ष प्रस्तुत गर्नु नेपाल फेस्टिवलको उद्देश्य रहेको छ। महोत्सवमा परम्परागत नृत्य तथा गीत–संगीत, नेपाली परिकारका स्टल, हस्तकला तथा व्यवसाय प्रवर्द्धनका विविध सामग्रीहरू प्रदर्शनीमा राखिने छन्।

सोसाइटीले महोत्सवलाई सफल बनाउन विभिन्न संघसंस्था, व्यवसायिक प्रतिष्ठान तथा समुदायका प्रतिनिधिहरूसँग सहकार्यको अपेक्षा गरेको अध्यक्ष खड्काले हिमालपारिलाई जानकारी दिनुभयो। प्रायोजन तथा साझेदारीमार्फत समुदायसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने र नेपाली संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउने अवसरका रूपमा यसलाई प्रस्तुत गरिएको उहाँको भनाइ थियो।

कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न स्वयंसेवकहरूको पनि आह्वान गरिएको छ। सांस्कृतिक कार्यक्रम व्यवस्थापन, अतिथि सत्कार, समन्वय तथा अन्य प्राविधिक कार्यमा सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ। सोसाइटीले ‘नेपाल फेस्टिवल २०२६’ लाई अकल्याण्डकै महत्वपूर्ण सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।