न्युजिल्याण्डका केही सरकारी अस्पतालहरूमा बुधबार राति करिब १२ घण्टासम्म आईटी प्रणाली अवरुद्ध हुँदा स्वास्थ्य सेवा गम्भिर प्रभावित भएको छ। प्रणाली विफल भएपछि अस्पतालहरूले अस्थायी रूपमा कलम र कागजको प्रयोग गरेर सेवा दिनुपरेको थियो ।
यो समस्या एक व्यावसायिक डाटासेन्टरमा देखिएको प्राविधिक खराबीका कारण उत्पन्न भएको हेल्थ न्युजिल्याण्डले जनाएको छ। तर, यो घटना स्वास्थ्य क्षेत्रका पुराना र कमजोर डिजिटल प्रणाली सुधार गर्ने उद्देश्यले सरकारले नयाँ डिजिटल आधुनिकीकरण केन्द्र स्थापना गरेपछि देखिएको हो।
गत डिसेम्बर १ देखि सञ्चालनमा आएको स्वास्थ्य डिजिटल आधुनिकीकरण केन्द्रका लागि १ करोड ९५ लाख न्युजिल्याण्ड डलर बजेट विनियोजन गरिएको छ। तर, आधिकारिक सूचना ऐनअन्तर्गत सार्वजनिक भएको विवरणअनुसार उक्त बजेट आगामी जुन महिनासम्म मात्र सुनिश्चित रहेको छ।
हेल्थ न्युजिल्याण्डका कार्यवाहक प्रमुख सूचना प्रविधि अधिकारी ड्यारेन डगलसका अनुसार केन्द्रको दीर्घकालीन बजेट स्वास्थ्य न्युजिल्याण्डको आन्तरिक बजेट प्रक्रियामार्फत तय गरिनेछ। उनका अनुसार केन्द्रले डिजिटल सेवा स्थिरीकरण, प्रणाली सुधार र भविष्यका लगानीका लागि आधार तयार गर्ने काम गरिरहेको छ।
यो एक महिनाभित्र अस्पतालहरूमा देखिएको यो चौथो आईटी अवरोध हो । तीमध्ये अधिकांश समस्या तेस्रो पक्ष सेवा प्रदायकसँग सम्बन्धित रहेको हेल्थ न्युजिल्याण्डले स्पष्ट पारेको छ।
वरिष्ठ चिकित्सक तथा कर्मचारी युनियनहरूले पछिल्ला वर्षहरूमा गरिएको आईटी कर्मचारी कटौतीले समस्या बढाएको आरोप लगाएका छन्। तर, हेल्थ न्युजिल्याण्डले हालको अवरोध कर्मचारी कटौतीसँग नजोडिने दाबी गरेको छ।
स्वास्थ्य मन्त्री सिमियन ब्राउनले स्वास्थ्य क्षेत्रमा भरपर्दो डिजिटल उपकरण विकास गर्नु सरकारको प्राथमिकता रहेको बताएका छन्। उनले चरणबद्ध रूपमा शासन संरचना, क्षमतावृद्धि र अन्तर्राष्ट्रिय अभ्यासअनुसार डिजिटल प्रणाली सुधार गरिने उल्लेख गरेका छन्।
यद्यपि, विशेषज्ञहरूले अस्पताल जस्तो संवेदनशील सेवामा आईटी प्रणालीमा वैकल्पिक व्यवस्था नहुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। पछिल्लो अवरोधले स्वास्थ्य डिजिटल पूर्वाधारमा थप लगानी र दीर्घकालीन रणनीतिक स्पष्टताको आवश्यकता औंल्याएको छ।
