न्युजिल्याण्ड – नेपाली साहित्य समाज, न्युजिल्याण्डले नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नयाँ वर्षको शुभकामना आदान–प्रदान, रचना वाचन तथा नेपाली मातृभाषा सम्बन्धी ‘क ख’ कोसेली पुस्तकबारे विशेष चर्चा गरिएको थियो। उक्त पुस्तकबारे समाजका संस्थापक सल्लाहकार उद्धव अधिकारीले विस्तृत जानकारी गराउनु भएको थियो।
त्यसैगरी संस्थाका अर्का संस्थापक सल्लाहकार एवं साहित्यकार श्रीधर बस्नेतले कवि तथा गीतकार भूपी शेरचन र उनका साहित्यिक कृतिहरूमाथि चर्चा गर्नुभयो। पौष–माघ महिनामा पर्ने कविशिरोमणि लेखनाथ पौड्याल तथा कवि–गीतकार भूपी शेरचनको जन्मजयन्तीको अवसरमा सहभागी अन्य साहित्यकारहरूले विशेष रचनाहरू वाचन गरेका थिए।
कार्यक्रममा नेपाली टोपीको गरिमा, नेपाली साहित्यको सुगन्ध र सांस्कृतिक पहिचानको संरक्षण गर्नु सबैको साझा दायित्व भएकोमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा समाजका अध्यक्ष डा. वीरन्द्र के.सी. सहित संस्थापक पशुपति कमाचार्य, कमल प्रसाद श्रेष्ठ तथा समाजका सदस्यहरू नमिता दवाडी, विनोद आचार्य, युवराज अधिकारी, डा. नारायणी तिवारी, टिका रेग्मी, युवराज भण्डारी, मिना पौडेल, सबिना चौलागाईं, सत्यदेवी शर्मालगायत वक्ताहरूले आफ्ना धारणा व्यक्त गरेका थिए। विनोद भौकाजीले सहजीकरण गरेको कार्यक्रम अनलाइन प्लेटफर्म जुम (Zoom) मार्फत सम्पन्न भएको हो।
