वेलिङ्टन । न्युजिल्याण्डमा आगामी १० वर्षभित्र जेलमा रहेका कैदीहरूको संख्या ३५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। न्याय मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सन् २०३६ सम्म कैदी संख्या १५ हजार २०० पुग्ने अनुमान गरिएको छ, जुन हालको संख्याभन्दा उल्लेखनीय वृद्धि हो।

प्रतिवेदनअनुसार सन् २०२६ फेब्रुअरीसम्म जेलमा रहेका ११ हजार २४० कैदीको संख्या आगामी दशकमा बढेर १५ हजारभन्दा माथि पुग्नेछ। यस्तै, मुद्दाको अन्तिम फैसला वा सजायको प्रतीक्षामा रहेका अर्थात् ‘रिमाण्ड’मा रहेका कैदीहरूको संख्या पनि ४८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

हाल न्युजिल्याण्डका जेलहरूमा ४ हजार ६७७ जना रिमाण्डमा रहेका छन्, जुन कुल कैदी संख्याको ४१ प्रतिशत हो। यो संख्या सन् २०३६ सम्म बढेर ६ हजार ९०० पुग्ने र कुल कैदी संख्याको ४५ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ।

न्याय मन्त्रालयकी सेक्टर इन्साइट्स महाप्रबन्धक रेबेका पेरिसका अनुसार रिमाण्डमा बिताउने समय केही हदसम्म स्थिर भए पनि आगामी वर्षहरूमा औसत अवधि ९१ दिनबाट बढेर ११० दिन पुग्न सक्ने प्रक्षेपण गरिएको छ। विशेषगरी महिलाहरू रिमाण्डमा जाने दरमा तीव्र वृद्धि देखिएको छ, जुन आगामी दशकमा ८२ प्रतिशतसम्म बढ्न सक्ने अनुमान छ।

प्रतिवेदनले अदालतमा दर्ता हुने कुल मुद्दाको संख्या भने ४ प्रतिशतले घट्ने जनाएको छ। तर, गम्भीर प्रकृतिका मुद्दाहरूमा ५ प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ। सरकारका नयाँ कानुनी नीति, अपराधविरुद्ध कडाइ तथा अग्रपंक्तिका प्रहरीको संख्या बढाइएकाले गम्भीर मुद्दा बढ्ने अनुमान गरिएको हो।

न्याय मन्त्रालयका अनुसार हालै लागू भएका सजायसम्बन्धी कानुनी संशोधनहरूले बढी व्यक्तिलाई जेल पठाउने र लामो समयसम्म कारागारमा राख्ने अवस्था सिर्जना गर्नेछन्। त्यसका कारण जेल व्यवस्थापन, पूर्वाधार विस्तार र न्याय प्रणालीको क्षमता अभिवृद्धिका लागि दीर्घकालीन योजना आवश्यक पर्ने देखिएको छ।

मन्त्रालयले सार्वजनिक गरेको यो प्रक्षेपणलाई भविष्यमा कारागार व्यवस्थापन, न्यायिक स्रोतसाधन तथा पूर्वाधार विस्तारका लागि महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।