काठमाडौं । नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको माग सम्बोधन नहुँदा नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ ।
उता, विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।
देउवाको नेतृत्वमा चुनावमा जान नसकिने अडानसहित विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक–पटक नेतृत्व परिवर्तनको माग गरेका थिए । तर सभापति देउवा पद छोड्न तयार नभएपछि आन्तरिक विवाद विभाजनमा परिणत भएको हो । कांग्रेसभित्र रुपान्तरण चाहने र यथास्थितिवादी धारबीचको संघर्ष अन्ततः पार्टी फुट्ने तहसम्म पुगेको छ ।
कांग्रेस केन्द्रीय समितिले थापा लगायत नेताहरूलाई अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गरेको हो । पार्टीको निष्कासन निर्णयपछि गगन थापाले नेपाली कांग्रेस कसैको निजी कम्पनी नभएको टिप्पणी गरेका छन् । “यो पार्टी मैले इतिहास बनाएको, आन्दोलन हाँकेको पार्टी हो,” उनले भने ।
संस्थापन पक्षले पार्टी चुनावी प्रक्रियामा जाने अवस्थामा विशेष महाधिवेशन सम्भव नरहेको अडान लिँदै आएको थियो । केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनका लागि वैशाख अन्तिम साता मिति तय गरिसकेको थियो । तर पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै आएका थिए ।
नियमित महाधिवेशनको मिति तय भएपछि विशेष महाधिवेशन हुन नसक्ने भन्दै संस्थापन पक्ष अडिग रह्यो । विशेष महाधिवेशन पक्षधरहरूले भने विधानमै व्यवस्था भएकाले यसलाई बेवास्ता गर्न नहुने तर्क गरेका थिए ।
पुस २८ भित्र विशेष महाधिवेशन बोलाउन माग गर्दै दिएको निवेदनको समयसीमा सकिन लागेपछि उनीहरूले जसरी पनि महाधिवेशन गर्ने अडान लिए । सोही अनुसार महाधिवेशनको प्रक्रिया अघि बढाइयो । महाधिवेशन चलिरहँदा पार्टीलाई विभाजनबाट जोगाउन पटक–पटक वार्ताका प्रयास भए । दुवै पक्षले वार्ता टोली गठन गरी सन्देश आदान–प्रदान गरे पनि अडान नछोड्दा नेपाली कांग्रेस अन्ततः विभाजनको अवस्थामा पुगेको हो ।
