काठमाडौं — संस्थापन पक्षसँग भएका वार्ता र छलफलहरू निष्कर्षमा नपुगिरहेको पृष्ठभूमिमा विशेष महाधिवेशन पक्षधरहरूले ८ बुँदे प्रस्ताव अघि सारेका छन् । प्रस्तावमा सभापति शेरबहादुर देउवालाई कार्यकारी भूमिकाबाट बाहिरिन आग्रह गर्दै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा गगन थापालाई घोषणा गरेर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ ।

८ बुँदे प्रस्तावमा विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिनुपर्ने, कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने, तथा टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने विषय समेटिएका छन् । साथै, निर्वाचन केन्द्रित हुन पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्ने र उम्मेदवारको टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने व्यवस्था गर्नुपर्ने माग पनि प्रस्तावमा राखिएको छ ।

त्यस्तै, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्दै कार्यान्वयनमा लैजानुपर्ने उल्लेख गरिएको छ । प्रस्तावका सबै बुँदा कार्यान्वयन गराउन कार्यवाहक सभापति, दुई महामन्त्री र थप दुई नेतासहितको पाँच सदस्यीय संरचना गठन गर्ने प्रस्ताव पनि गरिएको छ ।

सहमति खोज्न मंगलबार दिनभर र बुधबार बिहानैदेखि जारी वार्ता अझै टुंगोमा पुग्न सकेको छैन ।