अकल्याण्ड।
न्युजिल्याण्ड सरकारले विदेशी कामदारलाई सहज रूपमा भित्र्याउने उद्देश्यका साथ नयाँ भिसा नियम लागू गर्ने निर्णय गरेको छ। यस निर्णयपछि अब नेपाली नागरिकले पनि न्युजिल्याण्डमा सिजनल कामका लागि भिसा आवेदन गर्न सक्ने भएका छन्। यस भन्दा अघि नेपाली सिजनल वर्क भिसामा न्युजिल्याण्ड आउन पाउदैनथेँ ।

सरकारले आगामी डिसेम्बर ८ तारिखदेखि लागू हुने गरी नयाँ सिजनल भिसा योजना सार्वजनिक गरेको हो। यो योजना एक्रिडेट इम्ल्पोएर वर्क भिसा कार्यक्रम अन्तर्गत ल्याइएको हो। नयाँ नियम अनुसार सिजनल कामका लागि दुई प्रकारका भिसा उपलब्ध हुने छन् — ग्लोबल वर्कफोर्स सिजनल भिसा र पिक सिजनल भिसा।

न्युजिल्याण्ड सरकारले कृषि, प्रशोधन उद्योग, पर्यटन लगायतका क्षेत्रमा देखिएको कामदारको अभाव समाधान गर्न यी भिसा ल्याएको बताएको छ। सरकारले अनुभवी र दक्ष कामदारमार्फत देशको सिजनल कामका चुनौती समाधान गर्न सकिने विश्वास व्यक्त गरेको छ।

ग्लोबल वर्कफोर्स सिजनल भिसा तीन वर्षका लागि प्रदान गरिनेछ। यस अन्तर्गत रोजगारी दिने संस्थाले पदको विज्ञापन गर्न वा स्थानीय कामदार खोजेको प्रमाण देखाउनुपर्ने छैन। आवेदकले भने पछिल्ला छ वर्षभित्र कम्तीमा तीन सिजन सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव देखाउनुपर्नेछ। यस भिसामा आउने कामदारले प्रत्येक वर्ष तीन महिना अनिवार्य रूपमा आफ्नो देश फर्कनुपर्नेछ।

पिक सिजनल भिसा भने छोटो अवधिका कामका लागि हो। यस भिसा अन्तर्गत रोजगारी दिने संस्थाले स्थानीय कामदार खोजेको प्रमाण पेश गर्नुपर्नेछ। भिसा अधिकतम सात महिनासम्मका लागि मान्य हुनेछ। आवेदकले पछिल्ला तीन वर्षभित्र कम्तीमा एक सिजन सम्बन्धित काममा अनुभव देखाउनुपर्नेछ। यदि कामको अवधि तीन महिनाभन्दा बढी भएमा स्वास्थ्य बीमा अनिवार्य हुनेछ।

यी दुवै भिसाका लागि अंग्रेजी भाषा परीक्षण आवश्यक छैन। तर, आवेदकले स्वास्थ्य र चरित्र सम्बन्धी सम्पूर्ण प्रमाणपत्र पेश गर्नुपर्नेछ। साथै रोजगारी दिने संस्थाबाट वैध रोजगारी प्रस्ताव र लिखित सम्झौता अनिवार्य हुनेछ, जसमा काम सुरु र समाप्त हुने मिति, तलब दर, काम गर्ने घण्टा र स्थान स्पष्ट रूपमा उल्लेख हुनुपर्नेछ।

न्युजिल्याण्ड सरकारले ल्याएको यो नयाँ सिजनल भिसा योजनाले विदेशी कामदार लिन चाहने कम्पनीलाई सहज बनाउने र नेपालसहितका मुलुकका दक्ष कामदारका लागि नयाँ अवसरको ढोका खोलेको रुपम लिन सकिन्छ ।