मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटुरोगका करिब ९५ प्रतिशत रोगको उपचार स्वदेशमै सम्भव भइसकेको बताउनुभएको छ।

बुधवार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले बाँकी पाँच प्रतिशत उपचार, विशेषगरी हार्ट ट्रान्सप्लान्ट र कृत्रिम मुटु जडान सेवा अझै सुरु हुन नसकेको जानकारी दिनुभयो। उहाँका अनुसार यसका लागि आवश्यक कानुनी प्रक्रिया अधिकांश पूरा भइसकेको भए पनि स्वास्थ्य मन्त्रालयबाट अस्पताललाई लाइसेन्स नआएकाले सेवा सुरु हुन सकेको छैन।

डा. भट्टराईले भन्नुभयो, “मुटुरोगमा अहिलेसम्म हामी ९५ प्रतिशत रोगको उपचार नेपालमै गरिरहेका छौँ। बाँकी पाँच प्रतिशत रोगको उपचार, जसमा हार्ट ट्रान्सप्लान्ट र आर्टिफिसियल हार्ट समावेश छ, अहिले गर्न सकिरहेका छैनौँ। स्वास्थ्य मन्त्रालयले लाइसेन्स दिए लगत्तै हामी सेन्टरबाट सेवा सुरु गर्न सक्नेछौँ।”

उहाँले नेपालमा टीबी, डेङ्गु र डायरिया सबैभन्दा बढी देखिने रोग रहेको उल्लेख गर्दै फोक्सोसम्बन्धी रोगहरू पनि चुनौतीपूर्ण रहेको बताउनुभयो। साथै, नेपालले कुष्ठरोग उन्मूलन र कालाजारको प्रकोप घटाउन सफल भइसकेको, र खोप कार्यक्रम देशव्यापी रूपमा विस्तार भएको बताउनुभयो।

डेङ्गु अझै गम्भीर चुनौती रहेको र प्रत्येक वर्ष यसकै कारण धेरै नागरिकले ज्यान गुमाउने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने डा. भट्टराईको सुझाव छ।

उहाँले जलवायु परिवर्तनका कारण नयाँ रोग चुनौतीका रूपमा देखा परेको, र एन्टिबायोटिकले समेत काम नगर्ने अवस्थाबाट बच्न चिकित्सकको परामर्शअनुसार मात्र औषधि प्रयोग गर्न कानुनी व्यवस्था आवश्यक रहेको पनि बताउनुभयो। न्युज एजेन्सी नेपाल