नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको राजधानी नयाँ दिल्ली आइपुग्नुभएको छ।

नेपाली समाज भारतको आयोजनामा हुने “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम”मा सहभागी हुन उहाँ नयाँ दिल्ली पुग्नुभएको हो।

नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार भारतभर रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धता सुदृढ गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमका क्रममा पूर्वप्रधानमन्त्री दाहालले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको सुदृढीकरण, प्रवासी नेपालीका समस्या तथा अवसर र एकता तथा सहकार्यको महत्वबारे समसामयिक सन्देश दिने बताइएको छ।

भारतमा बसोबास गर्दै आएका नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा राजनीतिक चेतनाको अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाली समाज भारतले जनाएको छ।

यस अवसरमा आयोजक संस्थाले भारतमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन आह्वान गरेको छ।

कार्यक्रम ५ जनवरी २०२६, सोमबार दिउँसो १ बजे नयाँ दिल्लीस्थित लाजपत नगरको लाजपत भवन अडिटोरियममा आयोजना हुने जानकारी आयोजकले दिएको छ।