काठमाडौं । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलन, त्यस क्रममा भएको दमन, गोली प्रहार, तोडफोड, आगजनी र विध्वंशका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगलाई तत्कालीन प्रधानमन्त्री तथा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले अन्ततः आइतबार लिखित बयान दिएका छन्। आयोगमाथि नै आपत्ति जनाउँदै बयान नदिने अडान लिँदै आएका ओलीले सरकारको मध्यस्थतापछि लिखित रूपमा आफ्नो धारणा पेस गरेका हुन्।
आइतबार नै ओली राष्ट्रिय मानवअधिकार आयोग पुगेर ती घटनाबारे करिब साढे दुई घण्टा लामो बयान दिँदै गर्दा, पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको टोली ‘बयान दिन’ आग्रहसहितको पत्र लिएर ओली निवास गुन्डु पुगेको थियो। ओलीले आयोग टोलीलाई पहिल्यै तयार पारिएको आफ्नो लिखित भनाइ बुझाएर पठाएका थिए।
जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोग टोली ओलीलाई बयानका लागि उपस्थित गराउने उद्देश्यले पत्र लिएर पुगेको थियो। “पत्र बुझेलगत्तै उहाँले आफ्नो भनाइ लिखित रूपमा रहेको भन्दै बुझाउनुभयो,” शर्माले भने, “२३ र २४ भदौका घटनाबारे उहाँले पेस गर्नुभएको लिखित भनाइ अध्ययनकै क्रममा छ।” लिखित बयानको अध्ययनपछि आयोगले थप आवश्यक निर्णय गर्ने शर्माले जानकारी दिए।
लिखित बयानमा ओलीका मुख्य दाबी
ओलीको लिखित बयानमा २२, २३ र २४ भदौसम्मका घटनाक्रम, आन्दोलनको स्वरूप, सुरक्षा निकायको भूमिका र आयोग अध्यक्ष गौरीबहादुर कार्कीले यसअघि सार्वजनिक गरेका अभिव्यक्तिसमेत समेटिएका छन्। आयोगका एक सदस्यका अनुसार ओलीले सामाजिक सञ्जाल बन्द गरिएको विषय सर्वोच्च अदालतबाट पहिल्यै फैसला भइसकेको र देशभित्र विदेशी कम्पनीहरू कर नतिरी तथा नियमनबिना सञ्चालन भइरहेको अवस्थालाई नियन्त्रण गर्ने असल मनसायले उक्त कदम चालिएको उल्लेख गरेका छन्।
ओलीका अनुसार युवाहरूले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै अनुमति लिएका थिए। तर, आन्दोलनमा घुसपैठ र अराजक समूहको प्रवेश भएको दाबी उनले गरेका छन्। घुसपैठ भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको भन्दै आफूले थप टिप्पणी गर्न आवश्यक नपर्ने उनको भनाइ छ। २३ भदौमा माइतीघरबाट सुरु भएको जुलुस सुरुमा शान्तिपूर्ण भए पनि पछि घुसपैठ भएपछि अवस्था नियन्त्रणबाहिर गएको दाबी उनले गरेका छन्। नयाँ बानेश्वर क्षेत्रमा संसद् भवन तोडफोड गर्नेहरू आन्दोलनकारी नभई घुसपैठकारी भएको ओलीको तर्क छ।
आन्दोलनमा सहभागी अधिकांश व्यक्ति जेन–जी उमेर समूहका नभएको कुरा तत्कालीन फोटो र भिडियोबाट प्रस्ट देखिने दाबी पनि उनले गरेका छन्। २२ भदौको बेलुका बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा तथा विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको कुरा उनले लिखित बयानमा उल्लेख गरेका छन्।
२३ भदौमा तोडफोड सुरु हुनुका साथै एक्कासि गोली प्रहार हुन थालेपछि आफूले तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सबै सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएर छलफल गरेको र छानबिन समिति गठन गर्ने निर्णय भएको ओलीको भनाइ छ। सोही दिन बेलुका बसेको मन्त्रिपरिषद् बैठकबाट घटनाको छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरिएको उनले बताएका छन्।
ओलीले आन्दोलनमा देशभित्रका मात्र नभई बाह्य शक्तिको समेत भूमिका हुन सक्ने दाबी गरेका छन्। पछिल्ला समयका भूराजनीतिक गतिविधिले पनि आन्दोलनमा घुसपैठ भएको पुष्टि गर्ने उनको तर्क छ। २४ भदौमा भएको तोडफोड, आगजनी र विध्वंश योजनाबद्ध रहेको दाबी गर्दै उनले संसद् भवन, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, राष्ट्रपति भवनदेखि निजी सम्पत्तिसम्म एकैचोटि क्षति पुर्याइनु संयोग मात्र हुन नसक्ने उल्लेख गरेका छन्।
‘बिनाकुनै योजना कम समयमा यत्रो क्षति पुर्याउन सम्भव हुँदैन,’ उनले लेखेका छन्। २४ भदौको अवस्था नियन्त्रणमा लिन आफूले नेपाली सेना परिचालन गर्न चाहेको तर त्यो सम्भव नभएको उल्लेख पनि उनले गरेका छन्। त्यही दिन बालुवाटारमै प्रवेश गरी आफूमाथि नियोजित रूपमा आक्रमण गर्ने प्रयास भएको र ज्यानै जोखिममा पर्ने अवस्था सिर्जना भएको दाबी ओलीले गरेका छन्।
आयोग अध्यक्ष गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघिपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आफूलाई सुरुदेखि नै आशंका रहेको र अहिले पनि सोही अडान कायम रहेको कुरा पनि ओलीले लिखित बयानमा उल्लेख गरेका छन्। घटनाको कारण र त्यसको पछाडि संलग्न शक्ति को–को हुन् भन्ने विषय स्पष्ट रूपमा पहिचान गर्नुपर्ने माग उनले आयोगसमक्ष राखेका छन्।
मानवअधिकार आयोगमा साढे दुई घण्टा बयान
यसैबीच, ओलीले आइतबार राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर करिब साढे दुई घण्टा बयान दिएका छन्। आयोग सदस्य लिली थापाका अनुसार ओलीले आयोगले तयार पारेका सबै प्रश्नको जवाफ दिएका छन्। आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा कार्यकारी प्रमुख तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्षको हैसियतले ओलीले गरेका निर्णय र कदमबारे केन्द्रित भएर ३५ वटा प्रश्न सोधेको थियो।
२३ भदौमा किन बल प्रयोग भयो, मानवअधिकार हननबारे राष्ट्रिय सुरक्षा परिषद् बैठकमा छलफल भएको थियो वा थिएन, न्यूनतम बल प्रयोगका लागि सरकारले के कदम चाल्यो, २४ भदौको विध्वंसको अनुमान किन गर्न सकिएन र त्यसलाई रोक्न के प्रयास भए भन्ने विषयमा आयोगले प्रश्न गरेको थापाले बताइन्। करिब अपराह्न ४ बजे आयोग पुगेका ओली साँझ ६ः३० बजे बयान सकेर बाहिरिएका थिए। आयोगका अनुसार अब अन्तिम प्रतिवेदन लेखनको काम सुरु गरिनेछ।
