प्रमुख प्रतिपक्ष दल भिष्मराज आङदेम्बे ले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र साह को उपस्थिति अनिवार्य हुनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुख डिपि अर्याल को ध्यानाकर्षण गराउनुभएको हो । प्रधानमन्त्री साँच्चिकै बिरामी भएको भए त्यसबारे संसदलाई औपचारिक जानकारी गराउन आफूले आग्रह गरेको भए पनि बेवास्ता गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

नेता आङदेम्बेले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गर्न पाउने विषयमा आफ्नो दलको कुनै विमति नरहेको स्पष्ट पार्दै नीति तथा कार्यक्रममाथिको छलफलजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले प्रधानमन्त्रीका सल्लाहकारमार्फत स्वास्थ्य अवस्थाबारे विभिन्न समाचार आएको उल्लेख गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरिसकेको अवस्थामा सभामुखले संसदलाई जानकारी गराएको भए उपयुक्त हुने बताउनुभयो ।

आङदेम्बेले संसदमा सरकारको नीति तथा कार्यक्रममाथि हुने गम्भीर र महत्वपूर्ण छलफलमा प्रधानमन्त्री अनुपस्थित हुनु उपयुक्त नहुने पनि जिकिर गर्नुभयो ।