अकल्याण्ड । लामो समयदेखि प्रतीक्षामा रहेको नेपथ्य साँझ शनिबार अकल्याण्डस्थित ड्यु ड्रप इभेन्ट्स सेन्टरमा भव्य रूपमा सम्पन्न भएको छ । ग्रेस इन्टरनेशनलको प्रस्तुति तथा लाखे इभेन्ट्सको आयोजनामा सम्पन्न कार्यक्रममा दुई हजारभन्दा बढी नेपाली दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो ।

बालकदेखि वृद्धसम्मको उपस्थिति रहेको कार्यक्रममा नेपाली संगीत, भावना र सम्झनाले भरिएको अद्भुत माहोल बनेको थियो । नेपथ्यका प्रमुख गायक अमृत गुरुङले दुई घण्टाभन्दा लामो प्रस्तुतिमा नेपाली माटो, संस्कृति, प्रकृति र मानवताको सन्देश बोकेका दर्जनौँ चर्चित गीत प्रस्तुत गरेका थिए ।

‘रेशम’, ‘तालको पानी’, ‘उडायो रेलैले’, ‘जोगले हुन्छ भेट’ लगायत गीतमा दर्शकहरू सुरुदेखि अन्त्यसम्म झुमेका थिए । धेरै दर्शक गीतसँगै गाइरहेका, नाचिरहेका र भावुक बनिरहेको दृश्य देखिन्थ्यो ।

कार्यक्रम साँझ ७ बजेबाट काउन्टडाउनसहित सुरु भएको थियो । ठिक ८ बजे मञ्चमा नेपथ्य उत्रिएसँगै हलभरि हुटिङ र तालीको गडगडाहट सुनिएको थियो । सुरुका केही मिनेट स्क्रिनमा नेपथ्यका पुराना प्रस्तुति र सांगीतिक यात्रा देखाइएको थियो भने त्यसपछि अमृत गुरुङ प्रत्यक्ष मञ्चमा आएपछि दर्शक उत्साहले भरिएका थिए ।

पहिलो पटक नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न पुगेका अमर घललेले अमृत गुरुङका गीत र सन्देशले आफूलाई निकै भावुक बनाएको बताए । “गीत सुन्दा गाउँघर, आमाबुबा र आफ्नो माटो सम्झिएँ,” उनले भने, “अमृत दाइले गीतबीचमा दिएका सन्देशले नेपालका लागि केही गर्नुपर्छ भन्ने भावना जगायो ।”

क्राइस्टचर्चबाट कार्यक्रम हेर्न अकल्याण्ड आएका सन्तोष अधिकारीले नेपथ्यको गीतले विदेशमा रहेका नेपालीलाई एक ठाउँमा जोड्ने शक्ति राख्ने बताए । “नेपथ्य केवल ब्यान्ड होइन, यो नेपाली भावना हो,” उनले भने ।

त्यस्तै, अकल्याण्डमै बसोबास गर्दै आएकी सरिता तामाङले नेपथ्यका गीतले आफूलाई बाल्यकाल र गाउँघर सम्झाइदिएको बताइन् । “विदेशमा बस्दा कहिलेकाहीँ आफू हराएको जस्तो लाग्छ, तर आजको कार्यक्रममा नेपाल नै यहीँ आएको अनुभूति भयो,” उनले भनिन् ।

कार्यक्रमका क्रममा अमृत गुरुङले जहाँ रहे पनि आफ्नो भाषा, संस्कृति र वातावरणलाई माया गर्न नेपाली समुदायलाई आग्रह गरेका थिए । उनले नेपाली संगीतले संसारभर रहेका नेपालीलाई जोड्ने काम गरिरहेको उल्लेख गर्दै दर्शकप्रति आभार व्यक्त गरे । साथै महिनाको एक दिनको कमाइ नेपाल आमाका नाममा समर्पण गर्न आग्रह गर्दै यहाँ सिकेको सीप र दक्षतालाई आफ्नै देशमा प्रयोग गर्न पनि आग्रह गरे । संगीतसँगै नेपालमा भइरहेको राजनीतिक घटनाक्रमबारे पनि सामान्य चर्चा गर्दै उनले जेन्जी आन्दोलनबाट बनेको सरकारलाई आफ्नो वाचा र प्रतिबद्धतामा अडिग रहन संगीतमार्फत आग्रह गरेका थिए ।

नेपथ्यले तीन दशकभन्दा बढी समयदेखि नेपाली लोकधुनलाई आधुनिक संगीतसँग मिसाएर नयाँ पुस्तासम्म पुर्‍याउँदै आएको छ । सामाजिक सन्देश, मौलिकता र नेपालीपनका कारण ब्यान्ड आज पनि नेपाली समुदायमाझ उत्तिकै लोकप्रिय छ । अकल्याण्डमा सम्पन्न यो नेपथ्य साँझ केवल कन्सर्ट मात्र होइन, विदेशमा रहेका नेपालीहरूको साझा भावना, सम्झना र आत्मीयताको उत्सव बनेको सहभागीहरूको भनाइ थियो ।

कार्यक्रममा नेपाली खानाका विभिन्न परिकार, चिया–कफी तथा सामुदायिक भेटघाटका विशेष व्यवस्थासमेत गरिएको थियो । धेरैका लागि यो केवल सांगीतिक कार्यक्रम नभई विदेशमा बसेर पनि नेपालीपन महसुस गर्ने भावनात्मक अवसर बनेको थियो ।