काठमाडौं । नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स युथ क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि आमनेसामने हुने भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिलातर्फको उपाधि भिडन्त शनिबार हुनेछ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा न्यु डायमण्डले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनायो। प्रतिभा मालीको प्रभावशाली प्रदर्शनसहित न्यु डायमण्डले पहिलो सेट २५–१७, दोस्रो २५–२० र तेस्रो सेट २५–७ ले जित्दै सहज विजय हात पार्‍यो।

अर्को सेमिफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले हराउँदै उपाधि भिडन्त पक्का गर्‍यो। पुलिसले पहिलो सेट २५–१२ ले जिते पनि दोस्रो सेट २९–३१ ले गुमाएको थियो। त्यसपछि पुलिसले सशक्त पुनरागमन गर्दै तेस्रो र चौथो सेट क्रमशः २५–१४ र २५–१८ ले आफ्नो पक्षमा पार्‍यो।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल र रुकुम पश्चिम दुवै टोली शनिबार हुने फाइनलमा आमनेसामने हुनेछन्। दुवै टोलीबाट समान तीन–तीन जना भारतीय खेलाडी सहभागी छन्।

शुक्रबार सम्पन्न सेमिफाइनलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। पहिलो सेमिफाइनलमा हेल्प नेपालले २५–२१, २५–२३ र २५–२२ को स्कोरमा पुलिसको चुनौती पन्छायो। दोस्रो सेमिफाइनलमा रुकुम पश्चिमले पहिलो सेट गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले हराउँदै फाइनलमा स्थान बनायो।
– न्युज एजेन्सी नेपाल