जनकपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको स्पष्ट गर्नुभएको छ ।
शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले देउवासहित पार्टीका शीर्ष नेताहरूसँग निरन्तर समन्वय र संवाद भइरहेको बताउनुभयो । उहाँले मुलुक निर्वाचनको चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचन प्रचार–प्रसारमा जुट्न निर्देशन दिनुभयो ।
सभापति थापाले विगतका विषयलाई लिएर पार्टीभित्र मतभेद राख्ने समय अब नरहेको उल्लेख गर्दै निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने जो–कोहीलाई कारबाही गरिने चेतावनी दिनुभयो । उहाँका अनुसार पार्टी एकताभन्दा माथि केही पनि नरहेको र सबैले साझा लक्ष्यका लागि अघि बढ्नुपर्ने समय आएको छ ।
कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्र नयाँ नेतृत्व आएपछि केही अप्ठ्यारा परिस्थितिहरू देखिए पनि नेपाली काँग्रेससँग ती चुनौती सामना गर्ने क्षमता रहेको बताउनुभयो । सभापति थापाले पार्टी नेतृत्वले कसैलाई पनि विगतमा कुन पक्षमा उभिएको थियो भन्ने आधारमा व्यवहार नगर्ने स्पष्ट पार्दै फागुन २१ गतेको निर्वाचन र त्यसपछि पनि पार्टी एकतावद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपाली काँग्रेसलाई एकतावद्ध बनाएर लैजान आफूले कुनै कसर बाँकी नराख्ने पनि बताउनुभयो ।
