एएफपी
थाइल्याण्ड र कम्बोडियाले शनिबार ‘तत्काल’ युद्धविराम गर्न सहमति जनाएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै दुवै देशले विगत केही हप्तादेखि जारी घातक सीमा झडप अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
आधिकारिक तथ्याङ्कअनुसार तीन हप्तासम्म चलेको लडाइँमा तोपखाना, ट्याङ्क, ड्रोन र लडाकु विमान प्रयोग हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
यस द्वन्द्वले दुवै देशका करिब सबै सीमावर्ती प्रान्तहरूमा प्रभाव पारेको थियो, जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पहल गरेको दाबी गरेको अघिल्लो युद्धविरामसमेत भङ्ग गर्यो।
दुवै देशका रक्षामन्त्रीहरूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यस संयुक्त वक्तव्यमा हस्ताक्षर भएको समयपछि तुरुन्त लागू हुने गरी सन् २०२५ डिसेम्बर २७ तारिख स्थानीय समय अनुसार दिउँसो १२ बजेदेखि तत्काल युद्धविराम गर्न दुवै पक्ष सहमत छन्।”
वक्तव्यअनुसार युद्धविराम “नागरिक, नागरिक संरचना तथा पूर्वाधार र दुवै पक्षका सैन्य लक्ष्यविरुद्ध हुने आक्रमणसहित सबै प्रकारका हतियार प्रयोगमा, सबै अवस्था र सबै क्षेत्रमा” लागू हुनेछ।
दुवै पक्षले सबै प्रकारका सैन्य गतिविधि रोक्ने, सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई यथाशीघ्र घर फर्कन दिने सहमति पनि जनाएका छन्।
त्यसैगरी, बारुदी सुरुङ हटाउने (डिमाइनिङ) कार्य तथा साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति पनि भएको छ।
यो युद्धविराम दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का परराष्ट्रमन्त्रीहरूको आपत्कालीन बैठकपछि घोषणा गरिएको तीनदिने सीमा वार्तापछि भएको हो। यस क्रममा संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले पनि दुवै छिमेकी देशलाई लडाइँ रोक्न दबाब दिएका थिए।
