काठमाडौं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिनुभएको छ ।

कानून दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गर्नुभयो। न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने वा राजनीतिक स्वार्थ पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न खोजिने प्रयास स्वीकार्य नहुने उहाँको स्पष्ट भनाइ थियो । उहाँले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउँदै संविधान र कानुनको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो । “डर र प्रभावमा न्याय सम्भव हुँदैन, चाहे त्यो दुई तिहाइ सरकारको दबाब होस् वा महाअभियोगको त्रास,” उहाँले भन्नुभयो, “विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउँछ ।”

मल्लले संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन स्थापित हुन नसक्ने बताउँदै संविधान केवल कानुनी दस्तावेज मात्र नभई नागरिकको जीवनपद्धति बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले न्यायपालिका संविधानको भावना र सरकारको गतिसँगै अघि बढ्न तयार रहेको पनि बताउनुभयो। तर त्यसका लागि न्यायपालिकालाई पर्याप्त स्रोत र साधन उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो । सभामुखले केही समयअघि उठाएको जिज्ञासालाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “न्यायपालिका संविधानको स्पिरिट र सरकारको स्पिडमा चल्न सक्छ, तर त्यसका लागि आवश्यक पूर्वाधार र स्रोतसाधन चाहिन्छ ।”

कायममुकायम प्रधानन्यायाधीश मल्लले विगतका कठिन परिस्थितिमा पनि न्यायपालिकाले आफ्नो स्वतन्त्र अस्तित्व जोगाएको उल्लेख गर्दै न्यायिक सुधार र पुनरुत्थानको एजेन्डासहित अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले लोकतन्त्र, संविधानवाद र नागरिक अधिकारको संरक्षणका लागि सबै सरोकारवालालाई एकजुट हुन पनि आह्वान गर्नुभयो । – न्युज एजेन्सी नेपाल