उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेन–जी शहीदको भावना अनुसार आफूले काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो स्पष्ट पार्नुभयो।

उहाँले आफू मन्त्री रहँदा पनि जेन–जी शहीदको अन्त्येष्टि तथा उपचाररतहरूको अवस्था नियाल्दै सबै प्रक्रियामा सहभागी भएको र त्यसैले शहीदको बलिदानबारे गहिरो जानकारी भएको उल्लेख गर्नुभयो। जेन–जी शहीदको सपना पूरा गर्न र उनीहरूको बलिदानलाई मर्न नदिने उद्देश्यका साथ उज्यालो पार्टी नेपाल दर्ता गरेर आगामी निर्वाचनमा प्रवेश गरेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “शहीद परिवारको भावना मैले धेरै ठाँउमा गएर बुझेको छु, आर्यघाटसम्म पुगेको छु। पीडा धेरै महसुस भयो। हामीले केवल बोल्ने मात्र होइन, भावनाले काम गर्दै आएका छौँ। मन्त्री भएको नाताले सकेको काम पनि गरिसकेको छु। स्ट्याच्यु र जेन–जी पार्क निर्माणमा केही समय लागेको भए पनि आगामी सरकारले त्यसको निरन्तरता दिनेछ। आगामी सरकारले संसदमा उपस्थित भई शहीदको सपना पूरा गर्न योगदान दिने उद्देश्यका साथ उज्यालो पार्टी नेपाल दर्ता गरेर आएका छौँ। सबै नेपाली र शहीद परिवारको साथले हाम्रो प्रयास सफल हुनेमा विश्वास छ।”

अध्यक्ष घिसिङले पार्टीले शहीद परिवारसँग दीर्घकालीन रूपमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।