नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भएर बयान दिनु भएको छ । गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाको छानबिनका सिलसिलामा आयोगले उहाँसँग विस्तृत सोधपुछ गरेको हो।
आयोग स्रोतका अनुसार आन्दोलनका बेला सुरक्षा व्यवस्था, राज्य संयन्त्रको भूमिका, प्रदर्शनको नियन्त्रणका लागि अपनाइएका उपाय तथा त्यस क्रममा भएका मानव अधिकारसम्बन्धी विषयमा ओलीसँग जानकारी लिइएको थियो। आयोगले घटनाको समग्र पृष्ठभूमि, निर्णय प्रक्रिया र तत्कालीन सरकारको भूमिकाबारे समेत स्पष्टिकरण मागेको जनाएको छ।

यसअघि आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित विभिन्न राजनीतिक नेतृत्व र सरोकारवाला निकायका प्रतिनिधिसँग पनि बयान लिइसकेको छ। साथै, सुरक्षा निकायका उच्च अधिकारीहरूबाट समेत घटनासम्बन्धी विवरण संकलन गरिसकिएको आयोगले जानकारी दिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाले मानव अधिकार हनन भएको वा नभएको विषयमा तथ्यगत आधारमा अध्ययन भइरहेको जनाएको छ। घटनामा संलग्न सबै पक्षसँग बयान लिई निष्पक्ष र वस्तुनिष्ठ प्रतिवेदन तयार पार्ने तयारी भइरहेको आयोगको भनाइ छ।
आयोगले छानबिन प्रक्रिया पूरा भएपछि निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गर्ने र आवश्यक सिफारिसहरू सरकारसमक्ष पेश गर्ने जनाएको छ। – न्युज एजेन्सी नेपाल
