चितवनमा शुक्रबार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी कार्यक्रममा सहभागीहरूको मुख्य आकर्षण वरिष्ठ नेता बालेन्द्र शाह बने। उनी पार्टी सभापति रवि लामिछानेको निर्वाचन प्रचारका लागि चितवन पुगेका थिए।

चुनावी सभालाई सम्बोधन गर्दै शाहले स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा विशेष जोड दिए। उनले थारू समुदायले सञ्चालन गरेका घरबास कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै चितवनले देशलाई पर्यटन विकासको मार्ग देखाउन सक्ने बताए। “यहाँको उत्पादन, यहाँको लुगा, यहाँको संगीत र यहाँको खानेकुरालाई विश्वसामु चिनाउन सकिन्छ,” उनले भने।

शाहले सीमित नेता र बिचौलियाका कारण किसानले आफ्ना उत्पादनको उचित मूल्य नपाएको टिप्पणी गरे। भारतमा अनुदानमा उत्पादित कृषि उपजका कारण नेपाली किसान मारमा परेको उल्लेख गर्दै उनले यस्तो अवस्था अन्त्य गर्न आवश्यक रहेको बताए। उनका अनुसार यी समस्याको समाधान राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न सक्छ।

उनले देशको अवस्था हेटौंडा सिमेन्ट कारखानासँग तुलना गर्दै आवश्यक स्रोत र जनशक्ति हुँदाहुँदै पनि सही व्यवस्थापन अभावमा देश अघि बढ्न नसकेको बताए। उद्योगपति विनोद चौधरीद्वारा सञ्चालित वाइवाइ चाउचाउ उद्योगको उदाहरण दिँदै उनले मुलुक पनि त्यस्तै गतिशील रूपमा सञ्चालन हुनुपर्ने धारणा राखे।

सभामा किसानका समस्या पनि उठाइएको थियो। तरकारीले मूल्य नपाउनु र किसानले दूध पोख्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेताहरूले किसानको पीडालाई सम्बोधन गर्नुपर्ने बताए। बालेन्द्रले यो निर्वाचन क्षेत्र पार्टी सभापतिको भएकाले मतदातालाई ढुक्क रहन आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पुराना राजनीतिक दलबाट परिवर्तन सम्भव नभएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्न आग्रह गरे। उनले पुराना दललाई सडकको प्रतिपक्षमा पुर्‍याउनुपर्ने बताउँदै पार्टीलाई पाँच वर्षे अवसर दिन मतदातासँग अनुरोध गरे। “हामीले पाँच वर्षका लागि मौका मागेका छौं, देशलाई समृद्धितर्फ लैजान्छौं,” उनले भने।

मौन अवधि सुरु हुन तीन दिन बाँकी रहँदा आयोजित उक्त कार्यक्रममा पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले, चितवन–१ का उम्मेदवार हरि ढकाल र चितवन–३ की उम्मेदवार सोबिता गौतमले पनि आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा लोकदोहोरी गायक प्रकाश सपूतले सांगीतिक प्रस्तुति दिएका थिए।