बझाङ– ४ वैशाख २०६१ मा बझाङको खप्तडछान्ना गाउँपालिका–७, गोर्खालीगाउँमा जन्मिएका सुवास बोहरा पढाइमा अब्बल थिए । गाउँको स्कुलबाट ८ कक्षा पास गरेपछि छोराले राम्रो पढ्न सक्छ भनेर उनका आमाबुबाले सदरमुकामको सत्यवादीमा पढ्न पठाएका थिए । त्यहींबाट एसईई पास गरेका सुवासको कानुन पढ्ने धोको थियो ।
गाउँसमाजमा पनि सबैसँग मिल्ने र सहयोगी स्वभावका उनी भविष्यमा न्यायाधीश बन्ने सपना बोकेर धनगढी झरेका थिए । कानुन संकायमा प्लसटु पास गरेका उनले धनगढीकै कैलाली बहुमुखी क्याम्पसमा एलएलबी भर्ना भए तर परिवारको कमजोर आर्थिक अवस्थाले उनको सपनाको बाटो फेरिदियो । ऋणधन गरेर दुई वर्ष धाने पनि कैलालीको बसाइ र पढाइ खर्च पुर्याउन परिवारलाई मुस्किल हुन थाल्यो ।
काठमाडौंमै केही काम गर्ने र आफू जापानी भाषा सिक्दै भाइलाई पढाउने भन्दै उनले कानुन अध्ययनको यात्रा त्यहीं टुंग्याए । भाइलाई लिएर काठमाडौं आए । काठमाडौंको सुन्दरीजलमा डेरा लिएर बस्दै आएका उनले जापानी भाषा परीक्षा पास गरे ।
जापान जान पाउने कुराले उनी प्रफुल्ल थिए तर उनको खुसी धेरै टिकेन । जापानको भिसालागेको केही दिनमै उनका बुबा दीपक बेपत्ता भए । गएको २१ चैतमा उड्ने गरी उनको जापानको भिसा आएको भए पनि आर्थिकरुपमा घरको टेको रहेका बुबा नै बेपत्ता भएपछि उनले खर्च जुटाउन सकेनन् ।
१० लाख रकम अपुग भएपछि उनी जापान उड्न पाएनन् । यो घटनाले विरक्तिएका सुवास भाइलाई आफन्तको जिम्मा लाएर त्यसको केही दिनपछि भारतको बेङलुरु पुगे । छोरा विरत्तिएर भारत पुगेको आमा कैली देवीले सहन सकिनन् । उनी गाउँको घर ८० वर्षीया ससुराको जिम्मा छोडेर बेङलुरु पुगिन् ।
मजदुरी गरेर भए पनि जापान जाने खर्च जुटाउँछु भनेर सुवासलाई काठमाडौं फर्काइन् । ‘म इन्डियामै मजदुरी गर्छु । आफन्त, इस्टमित्रलाई ऋण मागेर पनि भने तँलाई जापान पठाउँछु भनेर फकाएँ,’ उनकी आमा कैलीले भनिन्, ‘मैले धेरै कर गरेपछि काठमाडौं फर्किएको थियो ।’
गएको सोमबार सुवासले बिहानको खाना आफैं पकाएका थिए । कक्षा ८ मा पढ्ने भाइ सन्दीपलाई खाना खुवाएर स्कुल पठाउँदै गर्दा ‘साथी भेटन बजार जान्छु, फर्किन ढिला भयो भने खाजा पकाएर खानू’ भनेर बिदाइ गरेका थिए ।
त्यहाँबाट सिधै जेन–जीले सञ्चालन गरेको आन्दोलनमा मिसिन नयाँ बानेश्वर पुगेका सुवास अब कहिल्यै फर्किने छैनन् । जहाँ गए पनि सकभर साँझ बिहानको खाना र दिउँसोको खाजा पकाउन डेरामा फर्किने दाजुलाई सन्दीपले अब कहिल्यै भेट्ने छैनन् । संसद् भवन अगाडिको गेटमा गोली लागेर सोमबार सुवासको मृत्यु भएको छ । घाँटीको रुद्रघण्टी छेडर उनलाई लागेको गोली ढाडबाट निस्किएको थियो । आन्दोलनकारीले अस्पताल पुर्याउन नपाउँदै उनको ज्यान गएको थियो ।
दाजुको मृत्युको खबर सुनेका सन्दीप डेरामा बेहोसजस्तै अवस्थामा छन् । आफन्तले उनलाई सम्हाल्न सकिरहेका छैनन् । सहयोगीले चन्दा उठाएर बेङलुरुबाट लखनउ हुँदै काठमाडौं पुगेकी आमा कैलीको झन्बिजोग छ । श्रीमान् बेपत्ता भएको शोकलाई कुल्चिँदै छोरालाई जापान पठाउन भनेर परदेश गएकी कैलीपुत्र वियोगको पिडाले गलेकी छन् । ‘हाम्रो घरको उज्यालो त्यही थियो । त्यसकै लागि भनेर घर छोडेर भाँडा धुन इन्डिया गएँ, शोकविह्वल कैलीले भनिन्, ‘त्यही उज्यालो निभ्यो । मेरो जीवन अन्धकार भयो ।’
गरिबीको दुश्चक्रले धनगढीबाट लखेटिँदै काठमाडौंबाट भारतसम्म पुगेको एक युवाको जापान जाने र परिवारलाई खुसी दिने सपना राज्यको दमनमा परेर अन्त्य भयो । ‘गरिबी र राज्य एकै पटक दुश्मन भए,’ सुवासका छिमेकी प्रदिप खड्काले भने,‘त्यो बेला खर्च पाएको भए आज यो दिन देख्नुपर्ने थिएन ।म जापान जाने निश्चित भएपछि आमालाई काठमाडौं ल्याउँछु भन्थ्यो । अहिले आफू नै रहेन । परिवारको बिजोग हुने भयो ।’ कान्तिपुरबाट
