काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने तयारीमा रहेको नेपाली महिला क्रिकेट टोली यतिबेला उच्च आत्मविश्वासका साथ अभ्यासमा जुटेको छ । टोलीले माथिल्लो मुलपानी क्रिकेट मैदानमा नियमित प्रशिक्षण गरिरहेको छ ।

पहिलोपटक एसियाली छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको नेपाली महिला टोलीको लक्ष्य स्पष्ट छ—पहिलोपटक महिला टी–२० विश्वकपमा स्थान बनाउने । आगामी जनवरीमा घरेलु मैदानमै हुने ग्लोबल छनोट प्रतियोगिताले नेपाली महिला क्रिकेटलाई ऐतिहासिक अवसर प्रदान गरेको छ ।

पुरुष क्रिकेट टोली दुई महिनापछि भारतमा टी–२० विश्वकप खेल्न जाँदै गर्दा महिला टोली पनि घरेलु मैदानमै विश्वकप छनोटको तयारीमा व्यस्त छ । यस कारण पछिल्लो समय नेपाली महिला क्रिकेटप्रति समर्थक र सरोकारवालाको चासो बढ्दो छ ।

छनोटको तयारीसँगै नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेटमा नयाँ अध्याय सुरु गरेको छ । भारतीय मूलका प्रशिक्षक हर्षल जयन्त पाठकलाई पहिलोपटक विदेशी मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिएको छ । क्यानका अनुसार पाठकलाई दुई वर्षका लागि जिम्मेवारी दिइएको हो । उनले यसअघि थाइल्यान्डको महिला टोलीलाई लामो समय प्रशिक्षण दिँदै पहिलोपटक महिला टी–२० विश्वकपसम्म पुर्‍याएका थिए ।

क्यानले पाठकलाई केवल सिनियर टोलीको प्रशिक्षक मात्र नभई समग्र महिला क्रिकेटको नेतृत्व गर्ने जिम्मेवारी दिएको जनाएको छ । जुनियरदेखि सिनियर टोलीसम्म महिला क्रिकेटको संरचनागत विकासमा उनको भूमिका रहने क्यानको विश्वास छ । यसले नेपाली महिला क्रिकेटमा नयाँ आयाम थपिएको मानिएको छ ।

प्रशिक्षक पाठकले नेपाली महिला क्रिकेटमा ठूलो सम्भावना देखेको बताएका छन् । खेलाडीको खेल्ने चाहना, ब्याटिङमा देखिएको इन्टेन्ट र क्रिकेटप्रतिको उत्साहले आफू प्रभावित भएको उनको भनाइ छ । उनले समग्र महिला क्रिकेटको विकास, बेन्च स्ट्रेन्थ मजबुत बनाउने र जुनियर तहबाटै प्रणालीगत विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी जनवरी १४ देखि नेपालमै हुने ग्लोबल छनोट प्रतियोगितामा नेपालसहित १० टोली सहभागी हुनेछन् । नेपाल समूह ‘बी’ मा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबेसँग रहेको छ । नेपालले पहिलो खेल जनवरी १८ मा थाइल्यान्डसँग माथिल्लो मुलपानीमा खेल्नेछ । अन्य खेलहरू पनि मुलपानी र कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुनेछन् ।