त्रिवि क्रिकेट मैदानमा बलरले गुग्ली फ्याँक्दै छन्, खेलाडीले दर्शकलाई रोमाञ्चक खेल देखाइरहेका छन्। तर मैदानको वरिपरि भने अर्को किसिमको उत्साह छ—व्यापारीहरूको। मंसिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले स्टेडियम वरिपरि सडकलाई सानो बजारमा परिणत गरिदिएको छ।

एकातिर दर्शकको हुटिङ, झण्डा फहराउने र जर्सीमा हस्ताक्षर गराउने भीड छ, अर्कोतिर चिया–चाउचाउ, मःम, क्लबका स्टिकर, क्याप र मास्क बेच्दै व्यापारीहरूले आफ्नो रोजगारी र कमाइ सुनिश्चित गरिरहेका छन्।

मःम बेच्दै आएका व्यापारी सापकोटा यस वर्ष आफ्नो स्टलको नाम नै ‘गुग्ली मःम’ राखेका छन्। कारण स्पष्ट छ—उहाँ सन्दीप लामिछानेका फ्यान। “दिनमा ३०–४० प्लेट मःम बिक्री हुन्छ। सन्दीप लामिछानेको फ्यान भएकाले स्टलको नाम ‘गुग्ली मःम’ राखेको छु,” सापकोटा भन्नुहुन्छ।

त्यसैगरी राजन शाक्य क्लबसँग सम्बन्धित स्टिकर, झण्डा, क्याप, मास्क लगायत ६–७ प्रकारका सामान बिक्री गर्दै आएका छन्। “दिनमा ३ हजारदेखि १० हजारसम्म कमाइ भइरहेको छ। गत वर्षभन्दा अलि कम हुन सक्छ, तर राम्रो त छ नै,” उहाँले बताउनुभयो।

तर सबै व्यापारी खुशी छैनन्। १८ वर्षीय धमन धामी स्टेडियमभित्रको कडा नियमका कारण आफ्नो व्यवसाय ठप्प भएको गुनासो गर्दै हुनुहुन्छ। “स्टेडियमभित्र दर्शकले खेल अवधिभर बस्नैपर्ने नियम छ। एक पटक बाहिर निस्कियो भने पुनः प्रवेश पाइँदैन। यसले हाम्रो व्यापार चौपट भएको छ। ठूला स्पोन्सर र व्यवसायीलाई फाइदा पुग्छ, साना खुद्रा व्यापारीमाथि भेदभाव,” धामीले भने।

एनपीएल सुरु भएको पहिलो तीन दिन प्रशासनले स्टल राख्न अनुमति नै दिएको थिएन। खुद्रा व्यवसायी रोशनी कोईरालाले भने समन्वयपछि सानो ठाउँ पाएको र अहिले चिया, चाउचाउ, बिस्कुट बेच्दै व्यवसाय गर्दै आएको बताउनुभयो। “एनपीएलले रोजगारी त दियो, तर साना व्यापारीलाई हेर्ने दृष्टिकोण सुधार्नुपर्छ। सुरुमा हामीलाई स्टल राख्न दिइएन, निकै कठिन भयो, पछि समन्वय गरेपछि बल्ल व्यवसाय गर्न सकियो,” उहाँले बताउनुभयो।

स्थानीय व्यापारीहरूका लागि एनपीएलले ठूलो अवसर र चुनौती दुवै ल्याएको छ। खेलको भीड, उत्साह, र दर्शकको ऊर्जा बिक्री बढाउन सहयोग गर्छ, तर नियमहरूले व्यापारीहरूको स्वतन्त्रता सीमित बनाएको छ।

मंसिर २७ गतेसम्म चल्ने यो लिगले त्रिवि वरपरको सडकलाई २७ दिनको मेला बनाइदिएको छ। मःमको स्वाद, चियाको गन्ध, झण्डा र जर्सी बेच्ने हुटिङ—सबैले सडकलाई जीवन्त बनाएको छ। तर स्टेडियमभित्रको नियमले व्यवसायिक स्वतन्त्रता र कमाइमा ‘डट बल’ जस्तो प्रभाव पारेको छ।

खेल अझै जारी छ, दर्शकले मैदानमा रोचक खेल हेरेका छन्, तर साना व्यापारीहरूको मनमा एउटै प्रश्न छ—“हामीलाई पनि मैदानभित्र किन खेल्न दिइएन?”

नेपाल प्रिमियर लिगले मनोरञ्जन मात्र होइन, साना व्यवसायीको रोजगारी र उद्यमशीलता देखाउने अवसर पनि प्रदान गरेको छ। तर यस अवसरको पूर्ण उपयोग गर्न नियम र व्यवस्थापनमा केही सुधार आवश्यक देखिन्छ। न्युज एजेन्सी नेपालको सहयोगमा तयार समाग्री र भिडियो