किराँत समुदायले बिहीवार देशभर परम्परागत संस्कार, पूजा–अर्चना र सांस्कृतिक कार्यक्रमसहित उँधौली पर्व हर्षोल्लासपूर्वक मनाइरहेका छन्। प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो पर्व अन्नबाली भित्र्याई पूर्खापूजासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाड मानिन्छ।

किराँत राई केन्द्रीय कार्यसमितिका सल्लाहकार मणिककुमार राईका अनुसार उँधौली पर्व उभौलीको प्रतिरोधी चक्र हो। वैशाखमा मनाइने उभौलीमा अन्नबाली लगाएर प्रकृतिसँग आशीर्वाद मागिन्छ भने मंसिरको उँधौलीमा ती अन्नबाली भित्र्याएर पूर्खालाई चढाइ धनधान्य, प्रकृति र भूमिप्रतिको कृतज्ञता व्यक्त गरिन्छ।

राईका अनुसार उँधौलीमा भित्र्याइएको नयाँ अन्न पितृलाई चढाई पूजा गर्ने, भूबारीको पूजासहित बालीको समृद्धिसंगै परिवारको कल्याणको कामना गर्ने परम्परा रहिआएको छ। कतिपयले पितृलाई अर्पण गरेपछि मात्रै नयाँ अन्न खाने चालचलन अझै प्रचलित छ।

किराँत समुदायको कुलघरमा राईहरूको चुल्हा, लिम्बूहरूको साततल्ले, सुनुवारहरूको चुल्हा तथा त्रिशुल, याख्याचुम्बाहरूको यावू राखेर पूजा गर्ने गर्छन्। “उभौलीमा लगाएको बाली पाकेपछि त्यसलाई पूर्खालाई देखाई चढाएर उँधौली मनाउने चलन हाम्रो हो,” राईले बताए ।

राई, लिम्बू, सुनुवार र याख्ख्या समुदायका सदस्यहरूले परम्परागत भेषभूषामा सजिएर सामूहिक रूपमा साकेला ९चण्डी० नृत्य गर्दै उँधौली पर्व मनाउने गरेका छन्। सार्वजनिक स्थलहरूमा सांस्कृतिक कार्यक्रम, सामूहिक पूजा तथा भेटघाटसमेत आयोजना गरिने गर्छ। उपत्यकाका विभिन्न स्थानसहित ललितपुरमा पनि बिहीवार उँधौली पर्व उत्साहपूर्वक मनाइएको छ।