काठमाडौं उपत्यकामा चिसो क्रमशः बढ्दै गएको छ । तापक्रम घटेसँगै उपत्यकाका विभिन्न क्षेत्रमा कडाकेको जाडो महसुस हुन थालेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर नै चिसो बढ्दो क्रममा रहेको छ । काठमाडौं उपत्यकामा आज यस वर्षकै न्यूनतम तापक्रम मापन गरिएको विभागले जनाएको छ । तापक्रम एकाएक घटेपछि उपत्यकामा जाडो बढेको हो ।
मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियससम्म झरेको छ । काठमाडौंमा ३.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने ललितपुरको सानेपा क्षेत्रमा न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियसमा झरेको छ ।
आइतबारदेखि काठमाडौं उपत्यकामा घाम पनि कम देखिन थालेको छ, जसका कारण चिसो अझ बढी महसुस हुन थालेको मौसमविद्हरूले बताएका छन् ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसो बढ्न लागेको भन्दै अनावश्यक काममा घरबाहिर ननिस्किन आग्रह गरिसकेको छ । मन्त्रालयले जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई अरूको तुलनामा बढी समस्या हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिएको छ ।
