कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख अन्तिम साता पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिकासहितको प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा उक्त प्रस्ताव बहुमतले पारित भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो। यसअनुसार महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।

प्रवक्ता महतका अनुसार, यसअघि यही पुसमा प्रस्ताव गरिएको १५ औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन सकेको थिएन। त्यसैले कार्यतालिका परिमार्जन गरी बहुमतले अनुमोदन गरिएको हो। बैठकले केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ। यसअघि मंसिर १५ मा बसेको बैठकले माघ मसान्तसम्म म्याद थप गरेको थियो। विधानअनुसार तल्ला कमिटीका म्यादहरू पनि आवश्यक परे थपिने बताइएको छ।

तर महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरूले बैठकको निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने तर्क राखेका छन्। उनीहरूले १४ औँ महाधिवेशनका प्रतिनिधिहरुलाई तयारीमा बस्न आग्रह गरेका छन्।