नेकपा (एमाले) को ११ औँ महाधिवेशन शनिबार उद्घाटन हुँदै छ । यहि मङ्सिर २७ देखि २९ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको मञ्चमा हुनेछ।

देशभरका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू उद्घाटनस्थल अवलोकन, पार्टी कार्यालयमा भेटघाट, भिडियो तथा सामाजिक सञ्जाल सामग्री निर्माणजस्ता गतिविधिमा सक्रिय छन्। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, महाधिवेशन प्रतिनिधिहरू करिब सबै आइसकेका छन्।

उद्घाटनस्थलमा विश्व सम्पदासूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ। मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदै, स्थलमा कार्यकर्ता र स्थानीय नागरिकको भिड लाग्ने अवस्था सिर्जना भएको छ।

नेकपा (एमाले) भक्तपुर जिल्ला उपाध्यक्ष तथा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाका अनुसार, मुख्य मञ्च लगभग तयार भइसकेको छ। करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार र अन्य आवश्यक संरचनाहरूको निर्माण अन्तिम चरणमा पुगेको छ। मञ्च बाहिरबाट हेर्दा आकर्षक देखिने र मञ्चमा उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमा उभिएको अनुभव हुनेगरी विशेष डिजाइन गरिएको छ।

मञ्चमा नेवारी कला–संस्कृति झल्काउने दृश्य, प्रतीक र सजावट राखिनेछ। उद्घाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिका लागि अलग प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक् गेट निर्माण भइरहेको छ। समारोहस्थलमा तीन लाख जनासम्म अट्ने गरी तयारी भइरहेको छ। प्रमुख दर्शकस्थलमा २५ हजार कुर्सी राखिने र विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक प्रतिनिधिहरू सहभागी हुने व्यवस्था मिलाइएको छ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, कार्यक्रम भव्य र अनुशासित बनाउन १० हजार नेशनल भोलन्टियर्स र अन्य जनसङ्गठनका स्वयंसेवक परिचालन गरिनेछ। पोसाकसहित ५ सय ५० स्वयंसेवक विशेष रूपमा व्यवस्था गरिनेछ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गते मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम तय गरेकाले पूर्वतर्फबाट जगाती र पश्चिमतर्फबाट गठ्ठाघर हुँदै विशाल र्‍यालीसहित सहभागीहरू सभास्थलतर्फ जाने व्यवस्था मिलाइएको छ।

भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाका अनुसार, अध्यक्ष ओलीको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर चारै नगरपालिका क्षेत्रमा घरदैलो अभियान सकिएको छ। वडाअनुसार करिब २२ हजार निमन्त्रणापत्र वितरण भइसकेका छन्। उद्घाटनका दिन भक्तपुरका सबै वडाबाट सांस्कृतिक झाँकीसहितको र्‍याली प्रदर्शन गरी कार्यक्रमस्थल प्रवेश गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको छ। भक्तपुरबाट करिब २५ हजार कार्यकर्ता सहभागी हुने लक्ष्य राखिएको छ।