अकल्याण्ड। न्यूजिल्याण्ड नेपाल सोसाइटी (एनजेडएनएस)को आगामी नेतृत्व चयन प्रक्रियालाई एकीकृत र विवादरहित बनाउन दुई पक्षबीच महत्वपूर्ण सहमति भएको छ । डा. रोशन खड्का नेतृत्वको समूह र डा. सुशिला भट्टराई नेतृत्वको समूहबीच भएको उक्त समझदारीमा सन् २०२६–२०२८ कार्यकालका लागि एउटै निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सहमति गरिएको हो ।
मे २९ मा हस्ताक्षर गरिएको ‘एनजेडएनएस युनिफाइड इलेक्सन एग्रिमेन्ट’ अनुसार समुदायभित्र एकता, विश्वास र सहकार्य कायम राख्दै पारदर्शी तथा सम्मानजनक निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सहमतिपत्रमा निर्वाचनसम्बन्धी सम्पूर्ण सदस्यता विवरण एकीकृत गरी प्रमाणित मतदाता सूची तयार पारिने उल्लेख छ। निर्वाचन समितिले दुवै पक्षको सदस्यता विवरण संकलन, प्रमाणीकरण तथा अन्तिम मतदाता सूची प्रकाशन गर्ने जिम्मेवारी पाउनेछ। निर्वाचन सञ्चालनका लागि पाँच सदस्यीय निर्वाचन समिति र तीन सदस्यीय पर्यवेक्षक समिति गठन गरिने भएको छ। समितिको मुख्य जिम्मेवारी सन् २०२६–२०२८ कार्यकालका लागि निष्पक्ष र विधानअनुसारको निर्वाचन सम्पन्न गर्नु रहनेछ ।
सहमतिअनुसार निर्वाचन परिणाम सार्वजनिक भएपछि एनजेडएनएसका सम्पूर्ण सम्पत्ति, डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल, डाटाबेस, बैंक खातासम्बन्धी अधिकार तथा अन्य भौतिक सम्पत्ति नवनिर्वाचित कार्यसमितिलाई हस्तान्तरण गरिनेछ ।
दुवै पक्षले सार्वजनिक आरोप–प्रत्यारोप नगर्ने, सम्मानजनक संवाद कायम राख्ने तथा शान्तिपूर्ण रूपमा नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सहमतिपत्रमा डा. रोशन खड्का, डा. सुशिला भट्टराई, एक्टर राई, रिज्मा प्रधान तथा एनआरएनएका सल्लाहकार बलराम खनाल, लालबहादुर केसी र सुबोध ढकालले हस्ताक्षर गरेका छन् ।
समुदायमा विगतमा देखिएका मतभेद अन्त्य गर्दै साझा निर्वाचनमार्फत एकताबद्ध एनजेडएनएस निर्माण गर्ने उद्देश्यले यो सहमति भएको दस्तावेजमा उल्लेख गरिएको छ। समुदायका सदस्यहरूले पनि यसलाई सकारात्मक रूपमा लिँदै आगामी निर्वाचनले एनजेडएनएसलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन् ।
सम्झौता पत्र
