न्युजिल्याण्डस्थित गैरआवासीय नेपाली संघद्वारा आयोजित ‘स्वास्थ्यका लागि पदयात्रा’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ । सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरबाट प्रेरित भई दैनिक ८ हजार ८ सय ४८ पाइला हिँड्ने प्रतिबद्धतासहित सुरु गरिएको अभियान टोङगारिरो अल्पाइन क्रसिङ पार गर्दै सम्पन्न गरिएको हो ।

अभियानमा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । सुरुआतमा सामान्य स्वास्थ्य सचेतना कार्यक्रमका रूपमा सुरु भएको यो अभियान क्रमशः व्यापक बन्दै ४५० भन्दा बढी समुदाय सदस्यलाई एकताबद्ध गर्न सफल भएको एनआरएनए न्युजिल्याण्डका अध्यक्ष अच्युत अर्यालले बताउनुभयो । कार्यक्रमको उद्देश्य केवल पाइला गन्नु मात्र नभई अनुशासन विकास, एकअर्कालाई प्रेरणा दिनु र स्वस्थ जीवनशैली अपनाउने सामूहिक प्रतिबद्धता निर्माण गर्नु रहेको उहाँले उल्लेख गर्नुभयो । “यस अभियानमा हामी सफल भएको महसुस गरेका छौँ,” उहाँले भन्नुभयो ।

कार्यक्रमको पहिलो चरणअन्तर्गत पदयात्रामा सहभागी ८५ भन्दा बढी नेपालीहरूले न्युजिल्याण्डको प्रसिद्ध १९ दशमलव ४ किलोमिटर लामो टोङगारिरो अल्पाइन क्रसिङ सफलतापूर्वक पार गरेका थिए । पदयात्रामा नेल्सन, क्राइस्टचर्च, टिमारु, वेलिङ्टन, अकल्याण्ड, ह्यामिल्टन, टौराङ्गा तथा पाल्मर्स्टन नर्थमा बसोबास गर्ने नेपालीहरूको सहभागिता रहेको थियो ।

यात्राका क्रममा सहभागीहरूले विविध रमाइला प्रस्तुति पनि दिएका थिए, जसले नेपाली समुदायको एकता र सहकार्यको भावलाई थप सशक्त बनाएको थियो । पदयात्रामा सहभागी हुन एक परिवारले आफ्नो तीन वर्षका बालकलाई समेत साथमा ल्याएको थियो ।

दैनिक ८ हजार ८ सय ४८ पाइला हिँड्ने लक्ष्यबाट सुरु भएको अभियान १९ दशमलव ४ किलोमिटरको हिमाली पदयात्रासम्म पुग्दा यो केवल शारीरिक अभ्यासमा सीमित नभई मित्रता, आत्मविश्वास र सामुदायिक सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा परिणत भएको अध्यक्ष अर्यालको भनाइ छ ।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबै सहभागी, स्वयंसेवक, संयोजन टोली, पदयात्रा संयोजक तथा सहयोगी निकायप्रति आभार व्यक्त गर्दै उहाँले सामूहिक प्रयासले असम्भव देखिने लक्ष्यसमेत सम्भव हुने प्रमाणित भएको र आगामी चरणहरूमा अझ व्यापक सहभागितासहित कार्यक्रम अघि बढाउने ऊर्जा प्राप्त भएको उल्लेख गर्नुभयो ।