अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अत्यधिक चिसो मौसमलाई ध्यानमा राख्दै एक हप्तासम्म युक्रेनको राजधानी कीभसहित अन्य प्रमुख शहरहरूमा आक्रमण नगर्न सहमति जनाएको दाबी गर्नुभएको छ।
राष्ट्रपति ट्रम्पले आफूले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनसँग संवाद गरी मानवीय कारणले केही समयका लागि आक्रमण रोक्न आग्रह गरेको र पुटिन त्यसमा सहमत भएको बताउनुभएको हो। मन्त्रिपरिषद् बैठकमा बोल्दै ट्रम्पले यस्तो जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
तर, रूसले यसबारे आधिकारिक रूपमा कुनै सहमति भएको पुष्टि गरेको छैन। यता युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले ट्रम्पको भनाइलाई स्वागत गर्दै रूसले दिएको भनिएको प्रतिबद्धता व्यवहारमा पनि कार्यान्वयन हुने आशा व्यक्त गर्नुभएको छ।
राष्ट्रपति ट्रम्पले आक्रमण रोक्ने सहमतिबारे स्पष्ट समयसीमा खुलाउनुभएको छैन। यद्यपि मौसमविद्हरूका अनुसार कीभको तापक्रम बिहीबार रातिदेखि तीव्र रूपमा घट्दै आगामी केही दिनमा माइनस २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। अत्यधिक चिसोका कारण सर्वसाधारणको जनजीवन थप जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
सन् २०२२ मा युद्ध सुरु भएयता रूसले जाडो मौसमलाई लक्ष्य गरी युक्रेनको ऊर्जा पूर्वाधार, विद्युत् केन्द्र र आवासीय क्षेत्रमा आक्रमण गर्दै आएको छ। यसपटक चिसोका कारण आक्रमण रोकिएको दाबीलाई अन्तर्राष्ट्रिय समुदायले सतर्कतापूर्वक हेरिरहेको छ।
विश्लेषकहरूका अनुसार यदि आक्रमण साँच्चै रोकिएमा यो अस्थायी मानवीय राहत हुन सक्नेछ, तर दीर्घकालीन शान्तिका लागि ठोस कूटनीतिक पहल आवश्यक रहेको उनीहरूको भनाइ छ।
