काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यसम्बन्धी चुनौती बढ्दै गएपछि सरकारले ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्ने व्यवस्था अपनाउन नागरिकलाई आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउने उद्देश्यसहित यस्तो निर्णय गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार सरकारले सरकारी तथा निजी क्षेत्रलाई सकेसम्म घरबाटै काम सञ्चालन गर्न सुझाव दिएको छ। साथै, विद्युतीय सवारीसाधनको प्रयोग बढाउन पनि विशेष आग्रह गरिएको छ।
सरकारले यसअघि नै सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। साथै, सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने विषयमा समेत छलफल भइरहेको मन्त्री रावलले जानकारी दिइन्।
इन्धन खपत नियन्त्रण गर्न सरकारले विभिन्न विकल्पहरू अघि सारेको छ। आइतबार सार्वजनिक बिदा दिने, शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने, इन्धन कोटा कटौती गर्ने लगायतका कदमहरू कार्यान्वयनमा ल्याइसकिएको जनाइएको छ।
मन्त्री रावलले पेट्रोलियम पदार्थको मूल्य समायोजन अपरिहार्य रहेको उल्लेख गर्दै सरकार यस विषयमा पारदर्शी रहेको बताइन्। “मूल्य समायोजनको बाध्यता छ, सरकारले यो तथ्य लुकाउँदैन,” उनले भनिन्।
यसैबीच, सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने भन्सार महशुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ।
सरकारले ऊर्जा बचतमा जोड दिँदै नागरिकलाई संयमित ढंगले स्रोतको उपयोग गर्न र संकट व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।
